Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

ब्राजिललाई ठूलो राहत : जापानसँग खेल्न नेइमार तयार

फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत आज राति हुने जापानविरुद्धको खेलअघि ब्राजिलले सुखद समाचार पाएको छ। टोलीका अनुभवी फरवार्ड नेइमार जुनियर पूर्ण रूपमा मैदानमा फर्किने अवस्थामा पुगेका छन् ।

पिण्डुलाको चोटका कारण ब्राजिलका पहिलो दुई खेल गुमाएका नेइमारले तेस्रो खेलमा भने छोटो समय मात्र खेलेका थिए । तर मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले अब उनी लामो समय खेल्न सक्ने अवस्थामा पुगेको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै एन्सेलोटीले नेइमारको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताए । उनले जापानविरुद्धको खेलमा नेइमार कति समय मैदानमा रहने भन्ने कुरा खेलको अवस्थाले निर्धारण गर्ने स्पष्ट पारे । उनले भने- 'नेइमारको अवस्थामा निकै राम्रो सुधार आएको छ । गत सातामा उनको प्रगति उल्लेखनीय रह्यो । चोटका कारण उनी टोलीसँग नियमित प्रशिक्षण गर्न सकेका थिएनन्, त्यसैले स्कटल्यान्डविरुद्ध १५ मिनेटभन्दा बढी खेलाउन सम्भव भएन । अहिले उनी त्यसभन्दा धेरै समय खेल्न सक्ने अवस्थामा छन्, तर अन्तिम निर्णय खेलको परिस्थितिअनुसार हुनेछ ।'

३४ वर्षीय नेइमार स्कटल्यान्डविरुद्धको खेलको ७५औँ मिनेटमा मैदान प्रवेश गर्दा समर्थकहरूले ठूलो उत्साहका साथ स्वागत गरेका थिए । उक्त खेलमा ब्राजिलले ३-० को सहज जित निकालेको थियो।

यसबीच एन्सेलोटीले भनेटीले जापानविरुद्धको खेललाई लिएर भइरहेको मनोवैज्ञानिक दबाबको खेलमा आफू नफस्ने बताएका छन् । जापानी खेलाडी केन्तो सिओगाइले ब्राजिलको स्तर पहिलेभन्दा कमजोर भएको संकेत गर्दै टिप्पणी गरेपछि दुवै टोलीबीच प्रतिस्पर्धा थप रोचक बनेको छ । तर एन्सेलोटीले त्यस्ता अभिव्यक्तिमा प्रतिक्रिया दिन अस्वीकार गर्दै आफ्नो टोली केवल खेलको तयारीमा केन्द्रित रहेको बताए । उनले भने- 'अरूले के भने भन्ने कुरा दोहोर्याउन चाहन्नँ । हामी प्रतिद्वन्द्वीको क्षमता अध्ययन गर्दै उत्कृष्ट तयारीमा केन्द्रित छौँ । यही नै हाम्रो प्राथमिकता हो। मानसिक खेल खेल्ने हाम्रो उद्देश्य छैन ।'

जापान पछिल्ला दुई दशकदेखि योजनाबद्ध रूपमा फुटबल विकास कार्यक्रम सञ्चालन गर्दै आएको टोली हो । हालको जापानी टोलीका अधिकांश खेलाडी युरोपका शीर्ष लिगमा नियमित रूपमा खेलिरहेका छन् । अहिलेको टोलीमा घरेलु लिगबाट छनोट भएका खेलाडी तीन जना मात्र रहेका छन्, जसमा ३९ वर्षीय अनुभवी युतो नागातोमो तथा वैकल्पिक गोलरक्षक केइसुके ओसाको र तोमोकी हायाकावा रहेका छन् ।