Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

जग्गादाता रामदरेश रायको योगदानले साकार भयो सपना : हरिपूर्वा–६ को नयाँ वडा कार्यालय भवन उद्घाटन

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं. ६ को नवनिर्मित वडा कार्यालय भवनको आज एक औपचारिक समारोहबीच विधिवत् उद्घाटन गरिएको छ। करिब ७० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनले अब वडावासीलाई आफ्नै भवनबाट सहज र प्रभावकारी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2026-06-19 at 11.02.48 AM (1).jpeg

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी रामदरेश रायले १ कट्ठा जग्गा निःशुल्क दान गरेका थिए। यसअघि वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो। नयाँ भवन निर्माण भएसँगै मासिक भाडा तिर्नुपर्ने बाध्यता हटेको छ भने नगरपालिकामाथिको आर्थिक भारसमेत कम भएको छ।

WhatsApp Image 2026-06-19 at 11.02.48 AM.jpeg

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा हरिपूर्वा नगरपालिकाका नगरप्रमुख बिनोद कुमार साहले वडा कार्यालय आफ्नै भवनमा सञ्चालन हुन थालेपछि सेवाग्राहीलाई थप सहज र गुणस्तरीय सेवा प्रदान गर्न सकिने बताए।

WhatsApp Image 2026-06-19 at 11.02.58 AM.jpeg

उनले भने, “वडा नं. ६ को कार्यालय आफ्नै भवनमा सञ्चालन हुनु यस वडाका नागरिकका लागि खुसीको विषय हो। अब सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन्। साथै, वडा कार्यालय निर्माणका लागि जग्गा दान गर्ने रामदरेश रायको सामाजिक योगदान अतुलनीय छ। यस्ता व्यक्तित्वको जति प्रशंसा गरे पनि कम हुन्छ। मेरो घरसमेत यही वडामा रहेकाले यस उपलब्धिले मलाई अझ बढी खुसी बनाएको छ।”

WhatsApp Image 2026-06-19 at 11.02.48 AM (2).jpeg

समारोहका क्रममा जग्गादाता रामदरेश रायको तर्फबाट उनका सुपुत्र कृष्ण कुमार रायलाई वडा कार्यालयले सम्मानपत्रसहित सम्मान गरेको थियो। सम्मान ग्रहणपछि आफ्नो मन्तव्य राख्दै कृष्ण कुमार रायले भने, “वडावासीलाई सहज रूपमा सेवा उपलब्ध होस् भन्ने उद्देश्यले हाम्रो परिवारले वडा कार्यालयका लागि जग्गा उपलब्ध गराएको थियो। आज त्यही स्थानमा सुन्दर भवन निर्माण भएको देख्दा अत्यन्त खुशी र गर्व महसुस भएको छ। यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्नुहुने वडा अध्यक्ष रामसोगारथ राय यादवज्युप्रति विशेष धन्यवाद व्यक्त गर्दछु।”

WhatsApp Image 2026-06-19 at 11.02.50 AM.jpeg

उद्घाटन कार्यक्रममा हरिपूर्वा नगरपालिका वडा नं. २, ५, ६ र ७ का वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, युवा, प्रहरी चौकी प्रमुख, किसान तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-06-19 at 11.02.58 AM (1).jpeg

नयाँ वडा कार्यालय भवन सञ्चालनमा आएपछि वडा नं. ६ का नागरिकले आफ्नै भवनबाट थप व्यवस्थित, प्रभावकारी र सहज सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।

WhatsApp Image 2026-06-19 at 11.02.52 AM.jpeg