टीभीएस मोटर कम्पनी (टीभीएसएम) ले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी सार्वजनिक गरेको छ। नयाँ मोटरसाइकलको डिजाइनदेखि प्रविधिसम्मका हरेक पक्षहरू रेसट्र्याकको अनुभवबाट तयार पारिएको हाे ।
टीभीएस अपाचे आरटीआर १६० ४भीमा आफ्नो श्रेणीमै उत्कृष्ट १७.५५ पीएस शक्ति, नियन्त्रण र उन्नत प्रविधिको संयोजन रहेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार रेसिङ इन्जिनियरिङमा आधारित यस मोटरसाइकलले उत्कृष्ट प्रदर्शन र तीन वटा राइट मोडहरू (स्पोर्ट, अर्बन र रेन) जस्ता नवीन विशेषताहरू प्रदान गर्दछ, जुन यस सेग्मेन्टमै पहिलो हो।
काठमाडौँको सतुंगलमा आयोजित सार्वजनिक कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर र बाइक प्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मिडिया र इन्फ्लुएन्सरहरूका लागि विशेष राइडिङ सेसन र डेडिकेटेड ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो।
कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले टीभीएस अपाचे ब्रान्डले राइडरहरूका लागि रेसिङबाट प्रेरित नवीनता र उन्नत प्रविधि ल्याएर प्रदर्शनको क्षेत्रमा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको बताए।
जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टीभीएस अपाचे ब्रान्डले नेपालमा विशेष गरी प्रदर्शन, शैली र प्रविधिलाई रुचाउने युवा राइडरहरूमाझ बलियो पकड बनाएको उल्लेख गरे। नयाँ बाइकले यसको सेग्मेन्ट लिडिङ फिचर्स र रेसिङ प्रदर्शनका कारण यो लोकप्रियतालाई अझ बढाउने बताउँदै उनले प्रोजेक्टर हेडल्याम्प, यूएसडी सस्पेन्सन र टीएफटी क्लस्टरको प्रयोगले समग्र राइडिङ अनुभवलाई उत्कृष्ट बनाउने दाबी गरे।
टीभीएस मोटर कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले २० वर्षभन्दा बढी समयदेखि टीभीएसले भारत र बाहिर ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी राइडरहरूको विश्वास जित्दै प्रदर्शनको नयाँ परिभाषा लेखेको उल्लेख गरे। बाइकले १६० सीसी सेग्मेन्टमा आफ्नो बेन्चमार्क कायम राखेको उनको भनाइ छ।
टीभीएस अपाचे आरटीआर १६० ४भी टीएफटी अहिले नेपालका छानिएका डिलरशिपहरूमा उपलब्ध छ र जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध हुनेछ। यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ र यसको एक्स-शोरूम मूल्य नेपाली ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ।