Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

कृषि संस्कृति झल्काउँदै बाजुरामा धान दिवस, तस्बिरमा हेर्नुहोस्

बाजुरामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाइएको छ । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित यहाँका नौं वटै स्थानीय तहले यो बर्षको राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाएका हुन् ।

photo-22_becf2e72.jpeg

कृषि ज्ञान केन्द्र बाजुरा र विभिन्न पालिकाको कृषि शाखाको आयोजनामा दिवस मनाइएको छ । दिवसमा अवसरमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, किसान र पत्रकारहरु किसानकै खेतबारीमा पुगेर हर्षोल्लासका साथ दिवस मनाएका हुन् । 

photo-25_cb1ecde6.jpeg

जमिनमा अर्गानिक मल, परम्परा, संस्कृति र प्रविधिलाई आत्मसाथ गर्दै राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव गरिएको हो ।

photo-30_b27f1834.jpeg

परम्परागत शैलीमा धान रोपाईँ गर्दै कृषि उत्पादनमा वृद्धि,आधुनिक खेती प्रणालीको विस्तार तथा जलवायु परिवर्तनसंग अनुकूल हुने खेती प्रविधिबारे सन्देश प्रवाह गरिएको थियो ।

धान तथा रोपाईँ महोत्सवमा सहभागीहरुले खेतमा प्रविधि (हाते ट्याक्टर) को सहायताले खेत जोत्दै, खन्दै असारे संस्कृति र आधुनिक प्रविधि अपनाएर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । धपधपे हिलोमा एक–आपसमा हिलो छ्याप्दै रमाइलो गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले किसानहरुमा धान तथा रोपाईँ महोत्सवको शुभकामना व्यक्त गर्दै आजको दिन ‘मानो खाएर, मुरी उब्जाउने दिन’ रहेको बताएका थिए । यस्ता खाले परम्परा र संस्कृतिलाई जीवन्त बनाईराख्न हिलो र माटोसंग रम्ने बानीको विकाश गर्नु पर्नेमा जोड दिएका थिए ।

photo-31_1600c5b7.jpeg

‘परम्परा,प्रविधि र संस्कृतिको संरक्षणमा स्थानीय कृषक मुख्य जिम्मेवार हुनुपर्छ । कृषि पेशा नै आत्मनिर्भरताको प्रमुख आधार हो । हिलो माटो सँग पौठाजोरी खेलेर अघि बढेको खण्डमा परम्परा,श्रम र संस्कृति सबैको संरक्षण हुन्छ । आपसी सद्भाव, मेलमिलाप, पहिचान र श्रमको सम्मानको रुपमा दिवसलाई लिन सकिन्छ,’ उनले भने।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले कृषि खेतीमा सबैले व्यवसायीक रूपमा लाग्नुपर्नेमा जोड दिंदै युगदेखि चलिआएको किसान दिवस अर्थात् धान दिवसले कृषि क्षेत्रमा सकारात्मक छाप छाडेको बताए। नेपाल सरकारले समेत अपनत्व गरेर कृषि क्षेत्रलाई महत्व दिएको प्रति खुसी व्यक्त गरे।

photo-20_79c9ea93.jpeg

‘धान दिवस किसानको दिवस हो। कृषकको श्रमको सम्मान गर्न सक्नुपर्छ । बाजुरा जस्तो हिमाली जिल्लामा कृषि अझै पनि अधिकांश नागरिकको मुख्य पेशा रुपमा जीवित छ । जीविकोपार्जनको मुख्य आधार कृषि भएकोले यस क्षेत्रमा लगानी र आधुनिकिकरण अपरिहार्य छ,’ उनले भने।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले उत्पादनलाई बढवा, रैथाने बालीनालीको प्रबद्र्धन, अर्गानिक खेती र उत्पादनमुखी परिणाममा जोड दिनुपर्ने बताए। कृषि अर्थतन्त्रमा सुधारमा ल्याउन नीतिगत रुपमा नेपाल सरकार र पालिकाहरुले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

त्यस्तै बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष धर्मराज पाध्यायले रोपाईँ हाम्रो परम्परा र संस्कृति भएकोले परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक प्रविधिको प्रयोगलाई आत्मसात गर्नुपर्नेमा जोड दिए।

साथै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण पानीका मुल सुक्दै जाँदा कृषि क्षेत्रमा असर परेको बताउँदै यसमा तिनै तहका सरकार गम्भीर हुनुपर्ने धारणा राखे।

photo-29_b0fb66fc.jpeg

अझै नयाँ प्रविधिको विकास, सरकारले समयमै बीउ,मल र सिचाईँको व्यवस्था गरेको खण्डमा उत्पादन बढाउन सकिने किसानहरुको गुनासो छ।

बाजुराका अधिकांश ठाउँमा आकाशे पानीको भरमा रोपाइ हुने गर्छ। कतिपय भिरालो तथा पाखो जमिनमा भने अझै रोपाइँ हुन सकेको छैन । 

धान दिवस केवल औपचारिक कार्यक्रम मात्र नभई किसानको श्रमको सम्मान गर्ने दिनका रुपमा लगिन्छ । खेतमा गुञ्जिएका असारे भाका, सामुहिक रोपाईँ,र स्थानीय संस्कृतिको झल्कोले यस्ता कार्यक्रमलाई थप जीवन्त बनाएको हुन्छ। कृषि सामाग्रीको सहजता उपलब्धता र बजार व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता किसानहरुले औँल्याएका थिए।

photo-8_b1885db5.jpeg

राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवले बाजुरमा कृषि संस्कृति र सामुहिक श्रमको महत्वलाई पुनस् स्मरण गराएको छ।आत्मनिर्भर कृषि,उत्पादन वृद्धि र किसानको जीवनस्तर उकास्ने यस्तो कार्यक्रमले कृषि क्षेत्रमा थप टेवा पुग्ने विश्वास लगिएको थियो।दिवसले असारे रोपाईँसंग जोडिएको मौलिक संस्कृति,श्रमको सम्मान र सामुहिक सहभागीताको परम्परालाई उजागर गरेको छ । 

photo-5_c0129710.jpeg

बाजुरामा प्रत्येक बर्ष भव्य रुपमा दिवस मनाउने गरिन्छ । सहभागीहरु अन्तिममा दहि,च्युरा,केरा खादैँ कृषकको माया सहित आपसी सद्भाव कायम राखेर खेतबारीबाट विदाई हुने प्रचलन छ।

बाजुरामा ६ हजार ९१५ हेक्टर धानको क्षेत्रफल छ।जहाँ १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।