वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न गैरसरकारी संस्थाहरूले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा फेसबुक विश्वभर अवैध वन्यजन्तु तस्करीको सबैभन्दा ठूलो अनलाइन बजार बनेको दाबी गरिएको छ ।
प्रतिवेदनले कमजोर सामग्री निगरानी प्रणाली र सामग्रीबाट आम्दानी गर्ने व्यवस्थाका कारण यस्तो अवैध कारोबार बढ्दै गएको आरोप लगाएको छ।
अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको विश्वव्यापी पहलले गरेको अध्ययनअनुसार सन् २०२४ को अप्रिलदेखि सन् २०२६ को मार्चसम्म सामाजिक सञ्जालमा वन्यजन्तु तथा तिनका अङ्गको बिक्रीसँग सम्बन्धित २० हजारभन्दा बढी विज्ञापन र दुई लाख ६० हजारभन्दा बढी बिक्रीसम्बन्धी सामग्री फेला परेका छन् । तीमध्ये करिब ७५ प्रतिशत विज्ञापन फेसबुकमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार बिक्रीका लागि राखिएका करिब ८४ प्रतिशत वन्यजन्तु तथा तिनका अङ्ग अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धिअन्तर्गत व्यावसायिक कारोबारमा प्रतिबन्ध लगाइएका प्रजातिका हुन् । तीमध्ये आधाभन्दा बढी प्रजाति सङ्कटापन्न वा अति सङ्कटापन्न अवस्थामा रहेका जनाइएको छ ।
यस्ता वन्यजन्तु तथा तिनका अङ्गको विज्ञापित मूल्य कुल ६ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा पैङ्गोलिन, गैँडाको खाग, चिम्पाञ्जी तथा संरक्षित पक्षीलगायतका वन्यजन्तु र तिनका अङ्ग खुला रूपमा बिक्रीका लागि राखिएको उल्लेख गरिएको छ । अनुसन्धानकर्ताहरूले फेसबुकको विज्ञापन र सदस्यता आधारित आम्दानी प्रणालीबाट यस्ता खाता सञ्चालन गर्ने व्यक्तिले आर्थिक लाभ लिइरहेको र त्यसले अवैध तस्करीलाई थप प्रोत्साहन दिएको आरोप लगाएका छन् ।
यता मेटाले भने यी आरोपबारे विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जालमा सङ्कटापन्न वन्यजन्तु तथा तिनका अङ्गको बिक्री पूर्ण रूपमा प्रतिबन्धित रहेको जनाएको छ ।