Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री गिता चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन् ।

मन्त्री चौधरीले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै  धान नेपालीको धर्म, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण बाली भएको बताइन् ।

उनले स्थानीय तथा जङ्गली धानका जातको संरक्षण, संवद्र्धन र उपयोगले जैविक विविधता, जलवायु सहनशीलता तथा दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने यस वर्षको धान दिवसको नाराले वर्तमान कृषि क्षेत्रको आवश्यकता र चुनौतीलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

मन्त्री चौधरीले  चामलको आयात घटाउन वर्षे र चैते धानको क्षेत्रफल विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण, सिँचाइ सुविधा विस्तार, उत्पादन सामग्रीमा सहज पहुँच तथा मूल्य सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।  

उनले स्थानीय तथा जङ्गली धानका जातको पहिचान, सङ्कलन, संरक्षण र जलवायुमैत्री जात विकासमा विशेष जोड दिनुपर्ने बताइन् ।