Jun 29 2026

Jun 29 2026 | सोमवार, आषाढ १५ गते २०८३

विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका प्रशिक्षकको राजीनामा, राष्ट्रपतिले दिए छानबिनको आदेश

फिफा विश्वकप फुटबलको समूह चरणबाट दक्षिण कोरिया बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक होङ म्युङ बोले पदबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिकासँग १-० ले पराजित हुँदै नकआउट चरणमा पुग्न असफल भएपछि उनले जिम्मेवारी त्याग्ने घोषणा गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले टोलीको निराशाजनक प्रदर्शन र होङको नियुक्ति प्रक्रियाको सरकारी छानबिन गर्न संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति लीले राष्ट्रिय टोलीको अप्रत्याशित असफलताले आफूलाई स्तब्ध बनाएको बताएका छन् । उनले योग्यताको सट्टा पक्षपात र व्यक्तिगत निकटतालाई प्राथमिकता दिएर नेतृत्व चयन गरिँदा यस्तो परिणाम आउनु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।

दक्षिण कोरियाले समूह चरणको पहिलो खेलमा चेक गणतन्त्रलाई २-१ ले हराएको थियो । त्यसपछि मेक्सिको र दक्षिण अफ्रिकासँग समान १-० को नतिजामा पराजित भयो । तीन खेलबाट तीन अंक मात्र जोडेको दक्षिण कोरिया अन्तिम ३२ मा पुग्न असफल रह्यो ।

दक्षिण कोरियामाथिको जितसँगै दक्षिण अफ्रिकाले भने आफ्नो विश्वकप इतिहासमै पहिलो पटक अन्तिम ३२ मा स्थान बनायो । 

मुख्य प्रशिक्षक होङको निर्णय पनि विवादमा परेको छ । उनले टोलीका स्टार खेलाडी सन ह्युङ मिनलाई दक्षिण अफ्रिकाविरुद्धको खेलमा सुरुआती टोलीमा नराख्ने निर्णय गरेका थिए । विपक्षी खेलाडी थाकेपछि उनलाई मैदानमा उतार्ने योजना रहेको उनले बताएका थिए । तर दोस्रो हाफ सुरु हुनासाथ सनलाई मैदानमा उतारिएको थियो । खेलपछि होङले अवसर पाए यस्तो निर्णय पुनः नदोहोर्‍याउने स्वीकार गर्दै समर्थकसँग माफी मागेका थिए ।

राजीनामाको घोषणा गर्दै उनले दक्षिण कोरियाली जनताप्रति गहिरो क्षमा मागेका छन् । राष्ट्रिय टोलीको जिम्मेवारी स्वीकार गर्नु सजिलो निर्णय नभए पनि अन्तिमसम्म इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने प्रयास गरेको उनले बताएका छन् ।

दक्षिण कोरियामा टोलीको असफलताप्रति व्यापक असन्तुष्टि देखिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार दक्षिण अफ्रिकासँगको हारपछि आयोजित पत्रकार सम्मेलनको प्रसारणका क्रममा राष्ट्रिय प्रसारण संस्थाले होङको अनुहारसमेत धमिलो बनाएको थियो । 

अर्कोतर्फ राष्ट्रपति लीले राष्ट्रिय टोलीमा करदाताको ठूलो रकम खर्च हुने भएकाले यस असफलताको कारण गम्भीर रूपमा अध्ययन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएका छन् । खेल प्रशासनमा आवश्यक सुधार पनि तत्काल अघि बढाइने उनले बताएका छन् ।

एसियाकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिने होङले सन् १९९० देखि २००२ सम्म दक्षिण कोरियाका लागि चार विश्वकप खेलेका थिए । उनी पहिलो पटक सन् २०१४ मा राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । त्यस वर्षको विश्वकपमा टोलीले कुनै पनि खेल जित्न नसकेपछि उनले राजीनामा दिएका थिए । सन् २०२४ मा उनी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर उनको नियुक्ति प्रक्रिया पनि विवादमा परेको थियो । खेलकुद मन्त्रालयले दक्षिण कोरियाली फुटबल सङ्घले आफ्नै नियम उल्लङ्घन गर्दै उचित अन्तर्वार्ता प्रक्रिया पूरा नगरी उनलाई नियुक्त गरेको आरोप लगाएको थियो ।