राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले किसान र सुकुमबासीका समस्याप्रति संवेदनशीलता नदेखाएको बताइन् ।
सांसद गुरुङले देशैभर भइरहेको सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको उठिबासप्रति पनि सरकारको ध्यानाकर्षण गराइन् । वैकल्पिक व्यवस्था नगरी डोजर लगाएर घर भत्काउने कार्य लोकतान्त्रिक राज्यका लागि शोभनीय नभएको उनको तर्क थियो ।
‘बालबालिकाहरू नियमित विद्यालय जान पाएका छैनन्, उनीहरूको किताब, कापी र पढ्ने वातावरण नष्ट भएको छ,’ गुरुङले भनिन्, ‘के यही हो सामाजिक न्याय ? के गरिबको घर भत्काएर मात्र विकास सम्भव हुन्छ ?’
उनले सरकारसँग भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार नगर्न र संवाद एवं कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न माग गरिन् ।