नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षपूर्तिका अवसरमा फ्रेन्ड्स अन क्लाउडले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवम् चीनका लागि नेपालका पूर्व राजदूत महेन्द्र पाण्डे, राजनीतिक विश्लेषक तथा प्राध्यापक प्रा. डा. सुरेन्द्र केसी, परराष्ट्रविद् डा. मनिता कुशी र क्लाउडका अध्यक्ष शोभित उप्रेतीलगायतका विज्ञहरूले नेपालले चीनको कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य र अनुसन्धानजस्ता क्षेत्रमा भएका प्रगतिबाट शीघ्र लाभ लिनुपर्ने धारणा व्यक्त गरे।
पूर्व मन्त्री पाण्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणबारे प्रधानमन्त्रीले सुझबुझपूर्ण कदम चाल्नुपर्नेमा जोड दिए। आसन्न भारत र चीन भ्रमणमा अनुकूल वातावरण सिर्जना गरी परिणाममुखी वार्ता गर्नुपर्ने उनको सुझाव थियो। उनले चीनका विश्वविद्यालयहरूले अनुसन्धानलाई प्राथमिकता दिने गरेको स्मरण गर्दै नेपालका विश्वविद्यालयहरूलाई पनि त्यसैअनुसार अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, प्रा. डा. केसीले नेपालको सुरक्षाको ढाडस चीन रहेको भन्दै दुई देशबीचको ऐतिहासिक सम्बन्ध अंशुवर्मा, भृकुटी र अरनिको जस्ता ऐतिहासिक पात्रहरूबाट जोडिएको र अहिले राजनीतिक तथा जनस्तरमा झन् सुदृढ बनेको बताए। विगतमा भारतभन्दा चीनसँग नेपालको सम्बन्ध बढी सन्तुलित रहेको उनको दाबी थियो। उनले चीनलाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउने प्रक्रियामा नेपालको योगदान महत्त्वपूर्ण रहेको स्मरण गरे।
क्लाउडका अध्यक्ष उप्रेतीले चीन विश्वकै पहिलो आर्थिक शक्ति बन्ने अवस्थामा पुगेको बेला नेपाल भने साना विवादमा अल्झनु दुःखद भएको टिप्पणी गरे। उनले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षपूर्ति गौरवमय उपलब्धि भएको उल्लेख गर्दै चीनको विकासबाट लाभ लिन ढिलाइ गर्नु नेपालका लागि घातक हुने धारणा राखे।