Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पर्सामा फैलियो झाडापखाला संक्रमण, लक्षण देखिएका दुई बिरामीको मृत्यु

पर्सामा झाडापखालाको लक्षण देखिएका दुई बिरामीको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले शनिबार (भदौ ७) उपचारका क्रममा झाडापखालाको लक्षण देखिएका एक बिरामीको मृत्यु भएको जानकारी दिए । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए ।

यस्तै, शुक्रबार (भदौ ६) वीरगन्ज हेल्थकेयरमा उपचाररत अर्का एक बिरामीको मृत्यु भएको जनाइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो/थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

‘डेडिकेटेड बेड’ छुट्ट्याई उपचार गरिने
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्ट्याएर उपचार गर्न निर्देशन दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा शनिबार बसेको बैठकबाट हैजाको संक्रमण बढेको अवस्थामा पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्ट्याई उपचार र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिइएको हो ।

झाडापखाला रोकथामका निम्ति सबै सरोकारवाला निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरिएको निमित्त प्रजिअ कार्कीले जानकारी दिए । यस्तै, सरसफाइ प्रवर्द्धनका निम्ति स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गरिएको पनि उनले बताए ।

झाडापखाला, हैजाका निम्ति जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षाकर्मी, स्थानीय तह, राजनीतिक दल, पेसागत संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायत निकायको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियान समेत सञ्चालन गरिने जनाइएको छ ।