Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मन्त्री यादवको निर्देशनपछि हैजा प्रभावित वीरगन्जमा टोली परिचालन

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ । 

वीरगञ्ज महानगरपालिकामा हैजा रोगका विरामी भेटिएपछि त्यहाँको खानेपानी परिक्षणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली खटिएको र टोलीले पानी परिक्षणको कार्य सुरु गरेको मन्त्री यादवले बताए ।

उनले भने, ‘तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या छ । यतिबेला वीरगञ्जमा हैजाका बिरामीहरू देखिनु निकै चिन्ताको विषय हो । हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न टोली खटाएका छौँ ।’ यसैगरी मन्त्री यादवले हैजा नियन्त्रणका लागि सरकार पूर्णरूपमा संवेदनशील रहेको बताए । यादव पनि अहिले हैजा प्रभावित क्षेत्रमा पुगेर मुर्ली लगायतका क्षेत्रहरू तथा नागराणी अपस्तामा पुगेर त्यहाँ उपचार गराई रहेका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको अवस्था अध्ययन गर्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । 

प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने सम्भावना भएकाले पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली तत्कालै वीरगञ्ज पठाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।  वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।