Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला अधिकारको मागसहित माईतीघरमा धर्ना

 महिला अधिकारको पूर्ण कार्यान्वयनको माग गर्दै आज राजधानीको माईतीघर मण्डलामा महिला अधिकारका लागि दबाव अभियानले धर्ना कार्यक्रम सञ्चालन गरेको छ। संविधानले सुनिश्चित गरेका अधिकारहरू व्यवहारमा लागू गराउन तथा विभेदकारी कानूनी प्रस्तावहरूको विरोधस्वरूप कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको संयोजन महिलाको निम्ति महिला मञ्च नेपालले गरेको हो, जसमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला जागरण तथा विकास केन्द्र, सामाजिक अभियन्ता, सञ्चारकर्मी, विद्यार्थी, अधिवक्ता तथा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

IMG-20250810-WA0008.jpg

धर्नामा सहभागीहरूले 'मेरो शरीर मेरो अधिकार', 'दण्डहिनता अन्त्य गर', 'कानूनको नाममा महिला हिंसा बन्द गर', 'महिला हिंसाविरूद्ध शून्य सहनशिलता कायम गर', 'शैक्षिक संस्थामा हुने हिंसा दुर्व्यवहार अन्त्य गर', 'संविधानले दिएको हक, कानूनमा किन भयो लक', लगायतका नाराहरू सहितका प्लेकार्ड बोकेका थिए । 

कार्यक्रममा महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालकी उपाध्यक्ष तथा महिलाको निम्ति महिला मञ्च नेपालकी कार्यक्रम निर्देशक सृजना पुनले बढ्दो दण्डहिनता र महिला विरोधी कानूनी प्रस्तावहरूप्रति गम्भीर चिन्ता व्यक्त गरिन्। उनले महिला अधिकारको सवालमा देशव्यापी अभियान आवश्यक रहेको , नेताहरूको कार्यशैलीमा सुधार आवश्यक रहेको, महिला विरोधी भाषणहरू बन्द गर्नुपर्ने तथा राज्यले महिलाको शरीरमाथि नियन्त्रण गर्न खोज्ने कानूनी प्रस्तावहरू हिंसात्मक रहेको धारणा राखिन्।

IMG-20250810-WA0005.jpg

धर्नामा ओरेक, परिवर्तनका लागि सहकार्य नेपाल, नेपाल महिला एकता समाज, तरंगिनी फाउन्डेसन, स्वासा नेपाल, पहिचान सञ्जाल काठमाडौं, अनौपचारिक श्रम क्षेत्रका श्रमिक लगायतका संस्थाहरूको सहभागिता रहेको थियो।

कार्यक्रम सांस्कृतिक शैलीमा पनि प्रस्तुत गरिएको थियो, जहाँ सहभागीहरूले दोहोरीमार्फत महिला अधिकारका मुद्दा उठाएका थिए। आयोजकका अनुसार धर्नामा १०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो। दबाव अभियानले हरेक अइतबार दिनको ३ देखी ५ बजे सम्म धर्ना कार्यक्रम आयोजना गरिरहेकोछ ।

IMG-20250810-WA0009.jpg

दबाव अभियानले संविधान दिवसको अवसरमा देशभर संवैधानिक अधिकारको सुनिश्चिता र पूर्ण कार्यान्वयनको मागसहित वृहत र्‍याली आयोजना गर्ने जानकारी दिएको छ। काठमाडौँमा हुने र्‍यालीमा हजारौंको सहभागिता रहने अपेक्षा गरिएको छ।