नेपाली हिन्दु नारीहरूको पर्व भनिँदै आएको तिज अब हिन्दु नारीहरूको मात्र होइन, सबै नेपाली नारी र पुरुषको समेत साझा पर्व बन्दै गएको छ । विगतमा विवाहित छोरी चेलीहरूको माइत जाने, दर खाने, दुःख–सुख साट्ने तथा दिदी–बहिनी र माइती बिचको आपसी सद्भाव बढाउने पर्व तिज युग र चेतनाको परिवर्तनसँग बदलिएको छ । जम्मा तिजको अघिल्लो दिन खाने दर अहिले सार्वजनिक कार्यक्रम आयोजना १५ दिन अघिदेखि खाने चलन बनेको छ ।
रामेछापमा यस वर्षको तिजको दर खाने कार्यक्रम राजनीतिक दलका भातृ र जनसंगठनदेखि, सामाजिक र व्यावसायिक संस्थाहरूले आयोजना गरेका छन् । पत्रकारदेखि, शिक्षकसम्म, व्यापारीदेखि, वित्तीय संस्थासम्म, सामाजिक संस्थादेखि योग ध्यान गराउने संस्थासम्म, कर्मचारीदेखि विद्यार्थीसम्मले तीजको दर खाने कार्यक्रम गरेका छन् । ती कार्यक्रममा महिलाको सरह पुरुषहरूको पनि सहभागिता देखियो ।
गैरसरकारी सामाजिक क्षेत्रबाट मात्र होइन सरकारी क्षेत्रबाट समेत तिजको दर खाने कार्यक्रम औपचारिक रूपमा नै आयोजना गरिए । खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका लगायतका स्थानीय तहले सार्वजनिक सूचना नै प्रकाशित गरी सांस्कृतिक प्रतियोगितात्मक कार्यक्रम सहित दर खाने कार्यक्रम आयोजना गरेका छन् । ती बाहेक अन्य स्थानीय तहले पनि औपचारिक वा अनौपचारिक रूपमा तिजका कार्यक्रम राखेका छन् ।
त्यसैले अब तिज कुनै धर्म वा लिङ्ग विशेषको नभएर सबै जातजाति, धर्म र लिङ्गको पर्व बनेको छ । सबैको साझा पर्व बन्दा पनि तिजको मौलिकता भने गुम्दै गएको नागरिक अगुवाहरूको भनाइ छ ।तिजको पवित्र भावनालाई अलिकति ओझेलमा पार्ने काम हुने लागेको सामाजिक अभियन्ता मिलनकुमार घिसिङ बताउँछन् । तिजलाई अब लैङ्गिक र सामाजिक समानता तथा महिला सशक्तीकरणको पर्वको रूपमा विकास गराउनुपर्ने धारण घिसिङको छ ।
मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्ने तिजको मौलिक संस्कृतिमा विकृति आएको बताउँछन् । यसको मौलिकता मर्न नदिई तिजलाई सबैको साझा पर्व बनाउनुपर्ने उनको धारणा छ । यसको लागि स्थानीय सरकारले समेत सहयोग गर्ने उनले बताइन् ।