त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर २३ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त कार्यक्रममा सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख्रेलविरुद्ध प्रदर्शन गर्ने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा त्रिभुवन विश्वविद्यालय स्ववियु उपसभापति सनम वली, त्रिवि स्ववियु सचिव हिक्मतकुमार बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिङ ऐरी, प्रकाश सन्जेल लगायत रहेका छन् ।
त्रिवि स्ववियू सभापति दीपकराज जोशीले त्रिविको स्थापना दिवस कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । जोशीले भने– ‘त्रिविले प्रवेश निषेध गर्न खोज्यो । विश्वविद्यालयमा न्यून बजेट उपलब्ध गराइयो भनेर हामीले विरोध गरेका थियो । सहकुलपति समेत रहेका शिक्षा मन्त्री आउने कार्यक्रममा प्रवेश निषेध गरियो । यसमा हाम्रो आपत्ति छ ।’
विद्यार्थीहरूले मेरिटोक्रेसी लागू गर्न, कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेको प्लेकार्ड बोकेका थिए ।