हरेक बिहान विद्यालयको घण्टी बज्छ। स-साना बालबालिका काँधमा झोला बोकेर हाँस्दै विद्यालयतर्फ दौडिन्छन्। उनीहरूका हातमा नयाँ किताब हुन्छन्, आँखामा उज्ज्वल भविष्यका रंगीन सपना।
ती दृश्य उनी टाढैबाट हेर्छिन्।
उनको मन पनि ती बालबालिकासँगै विद्यालयको ढोका पार गर्न चाहन्छ। विद्यालयको पोशाक लगाएर कक्षाकोठामा बस्न, नयाँ किताबका पाना पल्टाउन र अक्षरहरूसँगै आफ्ना सपनाको आकार कोर्न चाहन्छ। तर, रहरले मात्र जीवन चल्दैन।
घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ। बिहान-बेलुकाको छाक टार्नसमेत परिवारले संघर्ष गर्नुपर्छ। परिवारको गुजारा चलाउन उनकी आमा बाध्य भएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकी छन्। बुबा जेलमा छन्।
आमाको माया, बुबाको साथ र सुरक्षित परिवारको अनुभूति-यी सबैबाट उनी सानै उमेरमा टाढिइन्। खेल्ने, रमाउने र पढ्ने उमेरमा उनले अभाव, जिम्मेवारी र एक्लोपनसँग बाँच्न सिक्नुपर्यो।
जीवनले उनको काँधमा उमेरभन्दा ठूलो जिम्मेवारी राखिदियो।
उनले सानो भाइको हेरचाह गर्नुपर्छ। घर सम्हाल्नुपर्छ। कहिलेकाहीँ कोठाभाडाको चिन्ता पनि उनकै काँधमा आइपर्छ। विदेशमा पसिना बगाएर आमाले पठाएको पैसा सधैँ पर्याप्त हुँदैन। पैसा सकिँदै जाँदा भोलि के खाने, भाइलाई कसरी हुर्काउने र घर कसरी चलाउने भन्ने चिन्ताले उनका रात निद्राविहीन बन्छन्।
अरू बालबालिका गृहकार्य गरिरहेका बेला उनी जीवनको हिसाब मिलाइरहेकी हुन्छिन्।
यति धेरै संघर्षका बीच पनि उनको एउटा सपना भने कहिल्यै मरेन-पढ्ने सपना।
धेरैपटक उनी विद्यालयको बाटो भएर हिँड्छिन्। विद्यालयको आँगनमा खेलिरहेका बालबालिकालाई टाढैबाट हेर्छिन्। उनीहरूको हातमा किताब देख्दा उनका आँखा रसाउँछन्। कक्षाकोठाबाट आउने पढाइको आवाज सुन्दा उनको मन पनि त्यहीँ पुग्छ।
उनी मनमनै सोच्छिन्- “काश! म पनि आज उनीहरूसँगै पढ्न पाएको भए...”
तर उनी विद्यालयको ढोका पार गर्न सक्दिनन्। उनको हातमा किताब होइन, जीवनका कठिनाइ छन्।
कहिलेकाहीँ उनी आफैँलाई सोध्छिन्- “मलाई पनि त पढ्न मन छ। म किन विद्यालय जान पाउँदिनँ?”
उनले कुनै असाधारण सपना देखेकी छैनन्। उनलाई विलासी जीवन चाहिएको छैन। उनको चाहना सामान्य छ-एउटा विद्यालयको झोला, केही किताब, एउटा कापी, एउटा कलम र नियमित विद्यालय जाने अवसर।
अरू बालबालिकाले सहजै पाउने यिनै सामान्य कुरा उनका लागि संसारकै ठूलो सपना बनेका छन्। तर, समाजले उनलाई अवसरभन्दा बढी विभेद दियो।
के छोरी भएर जन्मनु उनको अपराध हो?, के गरिब परिवारमा जन्मनु उनको दोष हो?, के दलित समुदायमा जन्मनु उनको गल्ती हो? के बाल्यकालमै समाजका गिद्धे नजरबाट जोगिँदै बाँच्नुपर्ने अवस्था उनले रोजेकी हुन्? उत्तर स्पष्ट छ-होइन।
उनले आफ्नो जन्म रोजेकी थिइनन्। परिवार रोजेकी थिइनन्। जात रोजेकी थिइनन्। गरिबी रोजेकी थिइनन्। तर यी सबैको बोझ भने उनी बोक्न बाध्य भइन्।
उनको एउटै ‘दोष’ थियो-उनी गरिब परिवारकी एउटी छोरी थिइन्, जसले केवल पढ्न, सम्मानका साथ बाँच्न र आफ्नै मेहनतले भविष्य बनाउन चाहन्थिन्।
संविधानको अधिकार, व्यवहारमा किन छैन?
यहाँ एउटा प्रश्न हामी सबैसामु उभिन्छ। नेपालको संविधानले प्रत्येक बालबालिकालाई शिक्षाको अधिकार दिएको छ। समानताको हक सुनिश्चित गरेको छ। बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको अधिकार दिएको छ। आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने संवैधानिक व्यवस्था छ।
यदि यी अधिकार संविधानमा सुरक्षित छन् भने उनीजस्ती बालिका अझै विद्यालयभन्दा बाहिर किन छिन्? यो केवल एउटा परिवारको असफलता होइन। यो हाम्रो समाज, राज्य र सामूहिक जिम्मेवारीमाथिको प्रश्न हो।
राज्यको दायित्व विद्यालय भवन बनाउनुमा मात्र सीमित हुँदैन। गरिबी, जातीय विभेद, लैङ्गिक असमानता, पारिवारिक विखण्डन वा अन्य कुनै कारणले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो।
स्थानीय, प्रदेश र संघीय सरकारले संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन गर्न सके मात्र उनीजस्ता बालिकाको सपना साकार हुन सक्छ। उनीलाई थाहा छ-शिक्षा नै त्यस्तो शक्ति हो, जसले उनको जीवनको दिशा बदल्न सक्छ।
पढ्न पाए उनी आफ्नै खुट्टामा उभिन सक्छिन्। आमाको दुःख कम गर्न सक्छिन्। भाइलाई राम्रो भविष्य दिन सक्छिन्। गरिबीको पुस्तान्तरण हुने चक्र तोड्न सक्छिन्। अभावले होइन, आफ्नै क्षमता र पहिचानले चिनिन सक्छिन्।
आज पनि उनी एउटै आशा बोकेर बाँचिरहेकी छन्- “एक दिन म पनि विद्यालय जान पाउनेछु। किताबका पाना पल्टाउनेछु। पढेर आफ्नो भविष्य बनाउनेछु।”
यही आशाले उनी हरेक बिहान उठ्छिन्। यही आशाले हरेक कठिन दिन पार गर्छिन्। उनी आज पनि आमा फर्किने दिनको प्रतीक्षामा छिन्। उनलाई लाग्छ-सायद आमा फर्किएपछि जीवन फेरिनेछ। सायद विद्यालय जाने अवसर मिल्नेछ। सायद अधुरा सपनाले फेरि पखेटा पाउनेछन्।
तर, मनको कुनै कुनामा डर पनि छ। कतै उनका मौन आवाज शून्यतामै बिलाउने त होइनन्? कतै गरिबीले फेरि उनको पढ्ने रहर खोस्ने त होइन? कतै उनी पनि हजारौँ नेपाली चेलीजस्तै हातमा किताबको सट्टा राहदानी बोकेर खाडी मुलुकतिर लाग्न बाध्य हुने त होइनन्? कतै उनको सपनाको किताब बन्द भएर वैदेशिक रोजगारीको फाइल खुल्ने त होइन? यी प्रश्नको उत्तर आज कसैसँग छैन।
तर एउटा कुरा निश्चित छ-यदि राज्यले आफ्नो दायित्व पूरा गर्यो, समाजले सोच बदल्यो, विद्यालयले ढोका खुला राख्यो, समुदायले साथ दियो र हामी सबैले एउटा बालिकाको पढ्ने रहरलाई साझा जिम्मेवारी ठान्यौँ भने उनी दयाको पात्र होइन, परिवर्तनको उदाहरण बनेर उभिनेछिन्।
उनको कथा एउटी बालिकाको मात्र कथा होइन। यो नेपालका ती हजारौँ छोरीको कथा हो, जो पढ्न चाहन्छन् तर गरिबीले रोक्छ; जो सपना देख्छन् तर अवसरको अभावले ती सपना अधुरा रहन्छन्; जो छोरी भएकै कारण, गरिब भएकै कारण वा दलित समुदायमा जन्मिएकै कारण विभेद र अभावसँग लडिरहेका छन्।
उनीहरूलाई दया होइन, अधिकार चाहिएको छ। सहानुभूति होइन, समान अवसर चाहिएको छ। दान होइन, संविधानले सुनिश्चित गरेको शिक्षा, सुरक्षा र सम्मानपूर्वक बाँच्ने अधिकारको कार्यान्वयन चाहिएको छ।
आज एउटा छात्रवृत्ति, केही किताब, विद्यालयको झोला वा सुरक्षित शैक्षिक वातावरणले उनको जीवनको दिशा बदल्न सक्छ। तर त्यो दया होइन-उनको अधिकारको सम्मान हो।
किनकि एउटी बालिकाको पढ्ने रहर पूरा हुनु भनेको एउटा जीवन मात्र बदलिनु होइन। त्यसले एउटा परिवारको भविष्य बदल्न सक्छ, एउटा समुदायलाई रूपान्तरण गर्न सक्छ र अन्ततः एउटा पुस्तालाई उज्यालोतर्फ डोर्याउन सक्छ।
आज उनी अझै प्रतीक्षामा छिन्-एउटा अवसरको, एउटा विद्यालयको, एउटा किताबको र आमाको अँगालोको। सँगसँगै उनी संविधानले वाचा गरेको त्यो नेपाल पनि खोजिरहेकी छन्-जहाँ छोरी भएर जन्मनु अभिशाप नहोस्, गरिबी शिक्षाको बाधक नबनोस्, दलित भएर जन्मनु विभेदको कारण नबनोस् र कुनै पनि बालिकाको पढ्ने रहर परिस्थितिका कारण अधुरो नरहोस्।
किनकि हरेक बालिकाको हातमा किताब सुहाउँछ, बाध्यताको भारी होइन। हरेक बालिकाको आँखामा सपना सुहाउँछ, आँसु होइन। र, हरेक बालिकाको भविष्य गरिबीले होइन, शिक्षाले लेखिनुपर्छ।