काठमाडौंको भृकुटीमण्डपमा आगामी साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने नेपाल मोबिलिटी एक्सपो यसपटक विशेष हुने आयोजकले बताएको छ। अपाङ्गता भएका व्यक्तिहरू पनि सहजै सहभागी हुन सक्ने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिएका छन्।
अटोमोबाइल उद्योगको नवीनतम प्रविधि प्रदर्शन मात्र नभएर सबैको पहुँचकालागी आफूहरूले विशेष गृहकार्य गरिरहेको दुलालले बताएका छन्। यसपटकको मोबिलिटी एक्सपोमा विल्चियर प्रयोगकर्ताहरूलाई सहज प्रवेश र अवलोकनको सुविधा उपलब्ध गराइने निर्देशक दुलालले जानकारि दिए। त्यस्तै दृष्टिविहीन आगन्तुकहरूकालागि पनि दुई जना सहयोगीको व्यवस्था गरिने दुलालले बताएका छन्। त्यसकालागि भौतिक समरचना अपाङ्गमैत्री बनाउने तयारी भइरहेको दुलालको भनाई छ।
लामो समयसम्म अपाङ्गताको क्षेत्रमा काम गरिसकेका उनले अपाङ्गता भएका व्यक्तिहरूको पनि इक्छा/चाहना र उत्सुक्ता हुने बताएका छन्। कतिपय कुराहरू अनुभव गरेर पनि बुझ्न सकिने दुलालले बताए। दृष्टिविहीन व्यक्तिहरूको अनुभवलाई विशेष प्राथमिकता दिएका उनले दृश्य देख्न नसक्दा पनि वातावरणमा भिजेर, ध्वनि, गन्ध, स्पर्श र मानिसहरूको गतिविधिबाट दृष्टिविहीनहरूले धेरै कुरा महसुस गर्न सक्ने बताए।
प्रदर्शनी हलमा गाडीको इन्जिनको आवाज, भीडको हलचल, स्टलमा बज्ने संगीत वा सूचनात्मक उद्घोषणाले दृष्टिविहीनहरूलाई वातावरणसँग जोड्ने उनले भने। त्यसै गरी अनुभवले दृष्टिविहीन साथिहरूलाई एक्सपोको वास्तविकता बुझ्न मद्दत गर्नेमा दुलालले विश्वास व्यक्त गरे । यस वर्षको एक्सपोमा ५३ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहने तथा ४० नयाँ सवारीसाधन र प्रविधिको सार्वजनिक प्रस्तुति गरिने छ ।