भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी आन्दोलनका बीच ककरोच जनता पार्टी (सिजेपी) ले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबाट कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट गरेको छ ।
पार्टीका प्रमुख प्रवक्ता सौरभ दासले आन्दोलनकारी तथा वातावरण अभियन्ता सोनम वाङ्चुकसँग पटक-पटक छलफल भएको जानकारी दिँदै आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाउन सबैलाई आग्रह गरिएको बताए ।
उनले विगतका आन्दोलनमा असामाजिक तत्व घुसाएर आन्दोलनलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाउँदै यसपटक त्यस्तो अवस्था हुन नदिन सबैलाई संयम अपनाउन आग्रह गरेका छन् ।
केन्द्रीय मन्त्री जेपी नड्डाले विपक्षी दलले आन्दोलनलाई राजनीतिक रूपमा प्रयोग गरिरहेको बताएका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै दासले ३० दिनभन्दा बढी समयदेखि आन्दोलनरत नागरिकको मागलाई बेवास्ता गर्नु उचित नभएको बताए । उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट नहटेसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।
यसअघि मन्त्री नड्डाले सरकारले आन्दोलनकारीसँग संवाद गर्न तयार रहेको र यस विषयमा संसद नै गहन छलफलका लागि उपयुक्त स्थान भएको बताएका थिए । उनले बालबालिकाको भविष्यसँग जोडिएको विषय भएकाले सरकार र विपक्षी दुवै पक्षले जिम्मेवारीपूर्वक समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।
यसैबीच आन्दोलनप्रति कैयौं भारतीय सेलिब्रेटी र क्रिकेटरहरुले समेत समर्थन गरेका छन् । अभिनेता सलमान खानले विद्यार्थीहरुको मागको समर्थन गर्दै शिक्षाको विषय भएकाले यसमा राजनीति गर्न नहुने बताएका छन् । त्यस्तै कमल हसनले पनि आन्दोलनको समर्थन गर्दै विद्यार्थीका माग सुन्नुपर्ने बताएका छन् ।