पोषणमैत्री विद्यालय निर्माण गर्ने उद्देश्यका साथ सर्लाहीको हरिपूर्वा नगरपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण सम्मेलन सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, बागमती सेवा समाज नेपाल तथा Social Changemakers and Innovators को साझेदारी र हरिपूर्वा नगरपालिकाको समन्वयमा सञ्चालित परियोजनाअन्तर्गत उक्त सम्मेलन हरिपूर्वा नगरपालिका–३ धनकौल पूर्वस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यालयलाई पोषणमैत्री बनाउँदै विद्यार्थीहरूमा स्वस्थ जीवनशैलीको विकास गर्नु, सन्तुलित तथा पोषणयुक्त खानाको महत्वबारे सचेतना फैलाउनु र जंक फुड (अस्वस्थकर खानाको) अत्यधिक प्रयोगले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ। सम्मेलनका क्रममा विद्यार्थीहरूले पोषण, स्वास्थ्य, सरसफाइ तथा बालविवाहजस्ता सामाजिक समस्याका विषयमा सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए। नाटकमार्फत बालविवाहका कारण बालबालिका, परिवार र समाजमा पर्ने नकारात्मक असर तथा त्यसको न्यूनीकरणका उपाय प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो। साथै, पोषणयुक्त खानाको छनोट, नियमित स्वास्थ्य अभ्यास र स्वस्थ बानीको विकास सम्बन्धी सन्देश पनि प्रवाह गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, हरिपूर्वा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, युवा अभियन्ता पिंकी शर्मा तथा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्रका अनुगमन अधिकृत सुमित साहलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा नगरपालिकाका स्वास्थ्य तथा शिक्षा शाखाका प्रमुखहरूसँग ‘बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारमा स्थानीय सरकारको भूमिका’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। छलफलका क्रममा विद्यालय स्वास्थ्य, पोषण, सुरक्षित खानेपानी, सरसफाइ तथा बालबालिकाको समग्र विकासका लागि भएका प्रयासहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सहकार्य र कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सहभागीहरूले विद्यालयस्तरमै पोषण, स्वास्थ्य शिक्षा र सचेतनामूलक गतिविधिलाई निरन्तरता दिँदै पोषणमैत्री विद्यालय निर्माण अभियानलाई सफल बनाउन सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका थिए।र कार्यक्रमको अन्त्यमा सम्पूर्ण सरोकारबालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उत्साहजनक सहभागिता सहित भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।