मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले आत्मदाहपछि ज्यान गुमाएका सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका विवेक मण्डलको परिवारसँग भेट गरी प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री महतो मंगलबार साँझ मण्डलको निवासमा पुगेर शोकसन्तप्त परिवारसँग भेटघाट गरेका हुन्। उनले विवेकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरेका थिए।

मन्त्री महतोले विवेककी श्रीमतीलाई प्रदेश सरकारमार्फत रोजगारी उपलब्ध गराउन पहल गरिने बताए। आफ्नै क्षेत्रका नागरिकको पीडाप्रति प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले आवश्यक सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए।
विवेक मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ८५ प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा सोमबार राति करिब २ बजे उनको निधन भएको थियो।
मण्डलको निधनसँगै उनका परिवार गम्भीर आर्थिक संकटमा परेको छ। परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। परिवारका अनुसार गाउँघर तथा बैंकबाट लिएको गरी करिब ३५ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ। उनका दाजु वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन्।

यसैबीच, गोडैता नगरपालिकाले मण्डल परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। नगर प्रमुख देबेन्द्र यादवका अनुसार तत्काल २५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ भने नगरपालिकाको खाता सञ्चालनमा आएपछि बाँकी ७५ हजार रुपैयाँ उपलब्ध गराइनेछ।
नगरपालिकाले आर्थिक संकटमा परेको परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ। यस्तै, प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएपछि परिवारले दीर्घकालीन आर्थिक सहयोग, रोजगारीको व्यवस्था तथा ऋण व्यवस्थापनमा समेत राज्यले साथ दिने अपेक्षा गरेको छ।