टमाटरको उचित मूल्य नपाएको भन्दै किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलमा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेपछि सरकारले बजार व्यवस्थापनका लागि पहल थालेको छ।
आन्दोलनपछि कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर छलफल गरेकी थिइन्। छलफलमा किसानहरूले उत्पादनको उचित मूल्य, सहज बजार पहुँच तथा बिचौलियाको प्रभाव न्यूनीकरणका लागि सरकारको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताएका थिए।
जवाफमा मन्त्री चौधरीले किसानका जायज मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै बजार व्यवस्थापन र आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएकी थिइन्।
मन्त्रालयका अनुसार सोही पहल तथा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा बुधबारदेखि कालीमाटीबाट टमाटर काठमाडौं उपत्यका बाहिर ढुवानी सुरु गरिएको छ। उपत्यका बाहिर माग रहेका बजारमा टमाटर पठाएर किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण सिर्जना गर्ने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले किसानको उत्पादनले उचित बजार र उचित मूल्य सुनिश्चित गर्न बजार व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता पनि जनाएको छ।
यसअघि बुधबार बिहान उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघर मण्डलमा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए। किसानहरूले उत्पादन लागतसमेत नउठ्ने गरी मूल्य घटेको भन्दै सरकारसँग तत्काल बजार व्यवस्थापन र मूल्य स्थिरीकरणको माग गरेका छन्।