Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

टी-२० विश्वकपको ढाँचा फेरियो, के के गरियो नयाँ व्यवस्था?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकपको प्रतियोगिता ढाँचामा ठूलो परिवर्तन गरेको छ । नयाँ प्रणाली सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपबाट पहिलोपटक लागू हुने भएको छ ।

२० टोली सहभागी हुने प्रतियोगितामा कुल ५५ खेल भने यथावत रहनेछन् । तर पहिलो चरणका खेल घटाइने, दोस्रो चरणका खेल बढाइने र सेमिफाइनलअघि दुई अतिरिक्त ‘एलिमिनेटर’ खेल थपिने भएका छन् । यी खेललाई प्रभावकारी रूपमा क्वार्टरफाइनलका रूपमा लिइनेछ ।

नयाँ ढाँचाअनुसार पहिलो चरणमा अब पाँच समूह रहनेछन् र प्रत्येक समूहमा चार टोली रहनेछन् । यसअघि चार समूहमा पाँच-पाँच टोली थिए । प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा पुग्नेछन् ।

दोस्रो चरणलाई अब ‘सुपर १०’ नाम दिइएको छ, जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा पाँच टोली रहनेछन् । समूह विजेता टोली सिधै सेमिफाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच क्रस-ओभर एलिमिनेटर खेल हुनेछ । ती खेलका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

आईसीसीले सन् २०२६ मा भारत र श्रीलंकामा सम्पन्न विश्वकपमा उदाउँदा टोलीहरूले गरेको उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राख्दै दोस्रो चरणमा पुग्ने टोलीको संख्या बढाइएको जनाएको छ । यसले नयाँ क्रिकेट राष्ट्रहरूको सहभागिता बढ्नुका साथै प्रतिस्पर्धा अझ उच्चस्तरीय हुने विश्वास आईसीसीको छ ।

एलिमिनेटर खेल थपिएपछि दोस्रो चरणका अन्तिम खेलहरू अझ महत्वपूर्ण हुने र औपचारिकतामा सीमित हुने खेलहरूको सम्भावना घट्ने पनि आईसीसीले जनाएको छ ।

सन् २०२८ को विश्वकपका लागि हालसम्म १२ टोली छनोट भइसकेका छन् । आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डसँगै इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, अफगानिस्तान, बंगलादेश र आयरल्यान्डले स्थान सुरक्षित गरेका छन् ।

बाँकी आठ स्थानका लागि १६ टोली सहभागी हुने विश्वव्यापी छनोट प्रतियोगिता आयोजना गर्ने तयारी आईसीसीले गरेको छ । त्यसका लागि नोभेम्बरमा हुने वित्त तथा व्यावसायिक मामिला समितिको समीक्षा र बोर्डले आवश्यक निर्णय लिने बताइएको छ ।

विश्वव्यापी छनोटमा क्यानडा, इटाली, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्य अमेरिका सहभागी हुने निश्चित भएको छ । बाँकी आठ स्थान अफ्रिका, एसिया र युरोप क्षेत्रबाट दुई-दुई टोली तथा अमेरिका र पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक-एक टोलीले प्राप्त गर्नेछन् ।

आईसीसीले स्कटल्यान्डलाई भने यसपटक सिधै विश्वव्यापी छनोटमा पठाउने निर्णय नगरी युरोप क्षेत्रीय फाइनलबाटै प्रतिस्पर्धा गराउने जनाएको छ । बंगलादेशले नाम फिर्ता लिएपछि विशेष परिस्थितिमा स्कटल्यान्डले सन् २०२६ को विश्वकप खेलेको भन्दै यस्तो निर्णय गरिएको हो ।

विश्वव्यापी छनोट प्रतियोगिताबाट प्रत्येक क्षेत्रको शीर्ष टोली र समग्र प्रदर्शनका आधारमा थप तीन टोली विश्वकपका लागि छनोट हुनेछन् । त्यसका लागि आईसीसीले तोकेको न्यूनतम प्रदर्शन मापदण्ड पूरा गर्नुपर्नेछ ।

आईसीसीले पुरुष टी-२० विश्वकपको नयाँ ढाँचासँगै आगामी एकदिवसीय विश्वकपको प्रतियोगिता प्रणालीमा पनि परिमार्जन गरिएको जानकारी दिएको छ ।