Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा, फकल्यान्ड ब्यानरपछि फिफा कारबाहीको सम्भावना

अन्तिम पाँच मिनेटमा अविश्वसनीय पुनरागमन गर्दै अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। यससँगै साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको छ।

एटलान्टास्थित मर्सिडिज–बेन्ज रङ्गशालामा बुधबार राति (स्थानीय समय) सम्पन्न दोस्रो सेमिफाइनलमा अधिकांश समय पछि परेको अर्जेन्टिनाले खेलको अन्तिम क्षणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो।

खेलको दोस्रो हाफमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि बराबरी गोलका लागि लगातार आक्रमणमा उत्रिएको अर्जेन्टिनाले धेरै अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म अग्रता दिलाइराखे।

६९औँ मिनेटमा लियोनल मेसीको सटिक पासमा निको गोन्जालेजले गरेको प्रहार पिकफोर्डले शानदार रूपमा बचाएका थिए। त्यसको सात मिनेटपछि उनले अलेक्सिस म्याक एलिस्टरको प्रहार पनि रोके। यसअघि म्याक एलिस्टरको अर्को प्रहार पोस्टमा लागेको थियो।

तर ८६औँ मिनेटमा एन्जो फर्नान्डेजले करिब २० गज टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले खेल १–१ को बराबरीमा ल्यायो।

निर्धारित समय सकिन लाग्दा ९०औँ मिनेटमा म्याक एलिस्टरको अर्को प्रहार पुनः पोस्टमा लागे पनि त्यसलगत्तै मेसीले दिएको आकर्षक क्रसलाई वैकल्पिक खेलाडी लाउतारो मार्टिनेजले हेडमार्फत जालीमा बल छिराउँदै निर्णायक गोल गरे। त्यससँगै अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकाल्दै उपाधि नजिक पुगेको हो।

यो हारसँगै इङ्ग्ल्यान्डको सन् १९६६ पछि दोस्रो पटक विश्वकप फाइनल पुग्ने सपना फेरि अधुरै रह्यो। अब अर्जेन्टिनाले आइतबार हुने फाइनलमा स्पेनसँग चौथो विश्व उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

फकल्यान्ड ब्यानरपछि फिफाको निगरानीमा अर्जेन्टिना

फाइनल प्रवेशको खुसी मनाउने क्रममा अर्जेन्टिनाका खेलाडीले मैदानमा 'माल्भिनास अर्जेन्टिनाकै हो' भन्ने अर्थ लाग्ने ब्यानर प्रदर्शन गरेपछि फिफाले अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड (माल्भिनास) टापु बेलायतको अधीनमा रहेको भए पनि अर्जेन्टिनाले दशकौँदेखि त्यसमाथि आफ्नो सार्वभौम अधिकार दाबी गर्दै आएको छ। यही विवादका कारण सन् १९८२ मा दुई देशबीच ७४ दिन लामो युद्ध भएको थियो, जसमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो।

Argentina1784164152.jpg
undefined

यसअघि सन् २०१४ मा पनि अर्जेन्टिनाका खेलाडीले स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यही सन्देश भएको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिनी फुटबल संघलाई २७ हजार अमेरिकी डलर जरिवाना गरेको थियो। फिफाले त्यसलाई राजनीतिक सन्देश प्रवाह गर्दै प्रतियोगिताको आचारसंहिता उल्लंघन गरेको ठहर गरेको थियो।

यसबीच अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले सामाजिक सञ्जालमार्फत फकल्यान्ड टापु अर्जेन्टिनाकै भएको दाबी दोहोर्‍याउँदै यो खेल सामान्य खेल मात्र नभएको प्रतिक्रिया दिएकी छन्। तर अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले भने खेलअघि नै फुटबल र राजनीतिलाई एकै ठाउँमा मिसाउन नहुने बताएका थिए। उनले विगतको युद्ध दुःखद इतिहास भए पनि त्यसलाई फुटबलसँग जोड्नु उचित नहुने धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब फिफाले खेलाडीहरूको ब्यानर प्रदर्शन प्रतियोगिताको आचारसंहिताविपरीत भए–नभएको विषयमा अध्ययन गरी आवश्यक निर्णय लिन सक्ने सम्भावना रहेको छ।