साइनिंग पाथ मिडिया एण्ड कन्सल्टेन्सी प्रा.लि.को आयोजना तथा पर्सा गाउँपालिकाको सहयोगमा पर्सा गाउँपालिका–३, नारायणपुरस्थित स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा पर्सा गाउँपालिकाका २५० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए। शिविरमा सामान्यदेखि जटिल स्वास्थ्य समस्याको परीक्षण तथा पहिचान गरी स्त्री तथा प्रसूति रोग, बालरोग र जनरल फिजिसियन विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो। कार्यक्रमका क्रममा आयोजक संस्थाले ४२ प्रकारका औषधि निःशुल्क रूपमा सेवाग्राहीलाई वितरण गरेको जनाएको छ।

आर्थिक रूपमा विपन्न, गरिब, दलित तथा पछाडि परेका समुदायका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। शिविरको उद्घाटन पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले गरेका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, वडा नं. ३ का वडा अध्यक्ष रघुनाथ साह, स्वास्थ्य संयोजक, साइनिंग पाथ मिडिया एण्ड कन्सल्टेन्सी प्रा.लि.का प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी तथा विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो।

निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका स्थानीयले कार्यक्रमप्रति खुसी व्यक्त गर्दै यस्ता स्वास्थ्य सेवा आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।
