चीनको एक अदालतले तीन दशकसम्म अर्बौं युआन बराबरको घुस लिएको अभियोगमा एक पूर्वस्थानीय अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
चाङचौ अन्तरिम जन अदालतका अनुसार पूर्व आर्थिक विकास अधिकारी याङ युलिनले सन् १९९३ देखि २०२३ सम्मको अवधिमा अवैध रूपमा २ अर्ब २१ करोड युआन (करिब ३२ करोड ५० लाख अमेरिकी डलर) बराबरको सम्पत्ति प्राप्त गरेका थिए । उनी चीनको पूर्वी तटीय जियाङ्सु प्रान्तको राजधानी नानजिङमा कार्यरत थिए ।
याङमाथिको अनुसन्धान राष्ट्रपति सी जीङपीङको नेतृत्वमा सञ्चालन हुँदै आएको भ्रष्टाचारविरुद्धको दशक लामो अभियानअन्तर्गत गरिएको हो । यद्यपि आलोचकहरूले उक्त अभियान राजनीतिक प्रतिस्पर्धीलाई हटाउने माध्यमका रूपमा पनि प्रयोग हुने गरेको आरोप लगाउदै आएका छन् ।
अदालतका अनुसार याङले परियोजना स्वीकृत गराउने, व्यापार सञ्चालनमा सहजीकरण गर्ने, जग्गा उपलब्ध गराउने तथा सञ्चालन पूँजी व्यवस्थापनमा सहयोग गर्ने लगायतका कामको बदलामा घुस लिएका थिए । उनीमाथि हिनामिना, घुस दिने, सार्वजनिक कोषको दुरुपयोग, पदको दुरुपयोग तथा अवैध सम्पत्ति शुद्धीकरणका अभियोग पनि प्रमाणित भएका छन् ।
अदालतले यो घटनालाई हालका वर्षहरूमा सार्वजनिक भएको सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरणमध्ये एक भएको जनाएको छ ।
सुनुवाइका क्रममा याङले आफ्नो अपराध स्वीकार गर्दै पश्चात्ताप व्यक्त गरेका थिए । अदालतले सार्वजनिक गरेका तस्बिरमा सेतो कपाल भएका याङ गाढा रङको ज्याकेट लगाएर दुई प्रहरी अधिकारीको बीचमा उभिएको देखिन्छ ।
अदालतका अनुसार यस मुद्दाको सार्वजनिक सुनुवाइ मार्च र अप्रिलमा दुई अलग-अलग दिन गरिएको थियो, जसमा ३० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । याङको निजी सम्पत्ति जफत गरिने र घुसबाट आर्जित सम्पूर्ण रकम असुल गर्ने प्रयास गरिने अदालतले जनाएको छ ।
हालका वर्षहरूमा भ्रष्टाचारको अभियोगमा मृत्युदण्ड पाउने याङ पछिल्ला उच्च अधिकारी हुन् । यसअघि सन् २०२१ मा एक सरकारी कम्पनीका दलका पूर्वसचिव लाई सियाओमिनलाई घुस, हिनामिना तथा अन्य कसुरमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो । त्यसपछि सन् २०२४ मा भित्री मङ्गोलियाका स्थानीय अधिकारी ली जियानफिङलाई पनि हिनामिना र घुसखोरीको अभियोगमा मृत्युदण्ड कार्यान्वयन गरिएको थियो ।