Jul 05 2026

Jul 05 2026 | आइतवार, आषाढ २१ गते २०८३

भेनेजुएलामा भूकम्पपछि मृत्यु हुनेको संख्या २ हजार ९५४ पुग्यो

भेनेजुएलामा आएको विनाशकारी भूकम्पपछि मृत्यु हुनेको आधिकारिक संख्या २ हजार ९५४ पुगेको छ ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार उद्धार तथा राहत कार्यका लागि करिब ३० हजार सरकारी अधिकारी परिचालन गरिएका छन् । उनीहरूसँगै ३ हजार २८१ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा खटिएका छन् ।

सरकारी तथ्यांकअनुसार १६ हजारभन्दा बढी मानिस घरबारविहीन बनेका छन् । उनीहरूमध्ये केही सरकारी आश्रयस्थलमा बसिरहेका छन् भने अन्य प्रभावितहरू अस्थायी पाल शिविरमा आश्रय लिएर बसेका छन् । यस्तै, गैरसरकारी तर व्यापक रूपमा प्रयोग हुँदै आएको विवरणअनुसार अझै ४१ हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयको समन्वयमा विभिन्न सहयोगी संस्थासँग मिलेर सञ्चालन गरिएको अस्थायी अस्पतालले हालसम्म करिब ४ सय बिरामीको उपचार गरिसकेको छ ।

गत बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प गएको थियो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्‍याएको छ । राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भौतिक पूर्वाधारमा करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । जोखिम मूल्याङ्कन गर्ने संस्था भेरिस्कले भने कुल आर्थिक क्षति १० अर्ब अमेरिकी डलरभन्दा बढी हुने आकलन गरेको छ ।