Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो, नयाँ मूल्य कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ र आधा सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ कायम भएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य घटेपछि उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको जनाएको छ।