प्रमिला कार्की । कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । कोदोमा प्रोटिन, फाइबर, एन्टिअक्सिडेन्ट प्रशस्त हुनुकासाथै नसर्ने रोगहरूको जोखिम घटाउने क्षमता समेत हुन्छ । त्यसैले पनि कोदोलाई बहुगुणी अन्नका रुपमा पनि चिनिन्छ । ‘गरिबको खाना’ का रूपमा मात्र सिमित राख्दा कोदोको उत्पादन उपेक्षामा परेको थियो । तर केही समय यता कोदो उच्च प्राथमिकतामा पर्न थालेको छ । विभिन्न होटलहरुमा समेत कोदोको ढिँडो, मःम, पिज्जा, रोटी जस्ता विभिन्न परिकारहरु बनाउन थालिएको छ ।
त्यति मात्र होइन,सरकारले कोदोको प्रवद्र्धनको लागि यस वर्षदेखि साउन १६ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्न सुरु गरेको छ । शुक्रबार सरकारले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम आयोजनागरी प्रथम राष्ट्रिय कोदो दिवस मनायो ।
नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यम केन्द्रका सभापति र कोदो तथा फापर संघका अध्यक्ष डिबी बस्नेतले अहिले नेपालमा २० प्रजातिका कोदोहरु उत्पादन भइरहेको जानकारी दिए । जसमध्ये कतिपय लोप हुँदै गइरहेको बताउँदै उनले अहिले हाईब्रिडको बिऊहरुले प्राथमिकता पाउँदै गएको बताए ।
उनले भने,‘अहिले हेर्दा नेपालमा पाइने कोदो झण्डै २० प्रजातिका कोदोहरु छन् । तर ति कतिपय लोप हुने अवस्थामा पनि छन् ।परम्परागत रैथाने बालीहरु विस्तारै लोप हुँदै गइरहेको छन् । हाईब्रिडको बिऊहरुले प्राथमिकता पाउँदै गरेका छन् ।’ कोदोको महत्व सरकारले बुझेर साउन १६ लाई कोदो दिवस मनाउने घोषणा गर्नु एकदमै सान्दर्भिक रहेको उनी बताउँछन् । ‘कोदोको महत्व सरकारले बुझेर नै साउन १६ लाई कोदो दिवस मनाउने भनेर घोषणा गरेको छ । पौष्टिकतामा कोदोको जुन खालको महत्व छ त्यसलाई अहिले सरकारले पनि महशुस गर्यो ।’
कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउन आवश्यक रहेको बताउँदै उनले पहाडतिर मानिसको बस्ती विस्तार पातलो हुँदै गएका कारणले उत्पादनमा अप्ठ्यारो भएको सुनाए । ‘कोदो खेतीलाई एकदमै सान्दर्भिक बनाउनुपर्छ । केही पहाडी क्षेत्रमा हुने कोदो बस्ति विस्तार पातलो हुँदै गएका कारणले अलि अप्ठ्यारो भएको छ । तर कोदो खेतीलाई अगाडि बढाउन सरकारसँग मिलेर हामी काम गर्छौं ।’
नेपालमा कोदोको बजारीकरणमा कुनै समस्या नरहेको दाबी गर्दै उनले उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादनमा जुट्ने प्रतिबद्धता जनाए । नेपाली उत्पादनले नेपाली बजारमा नै नपुग्दा आयात गर्नुपर्ने बाध्यता रहेकाले नेपालको उत्पादनले नै पुग्नेगरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘तर बजारीकरणको त्यति धेरै समस्या छैन । बाहिरबाट पनि आयात भइरहेको छ । यसलाई उच्च मूल्य प्राप्त गर्ने खालको उत्पादन सुरु हामी गर्छौं । बिस्कुट, केक जस्ता खाद्यबस्तु उत्पादन भइरहेको छ । कोदोको उत्पादन बढाउन रासायनिक मल प्रयोग नगरेको राम्रो हो । नेपाली उत्पादनले नेपाली बजारमा नै पुगेको छैन । यो वर्षपनि झण्डै ७२ करोड जतिको कोदो बाहिरबाट नेपाल आइसकेको छ । तर केही कम्पनीहरुले बाहिर पनि पठाइरहनु भएको छ । नेपालको उत्पादनले पुग्नेगरी हामी अगाडि जानुपर्छ ।’
त्यस्तै, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, प्रमुख केशब देवकोटाले स्वास्थ्यमा कोदोको परिकारको प्रयोय एकदमै महत्वपूर्ण रहेको प्रष्ट पारे ।
उनले भने,‘कोदोमा पौष्टिक तत्व बढी हुन्छ । प्रोटिन धेरै पाइन्छ चामलको तुलनामा यो धेरै उपयोगी छ । क्याल्सियम, पोटासियम पनि एकदमै बढी रुपमा पाइन्छ ।’ उनले भने,‘धान लगाउने सिजनमा नै कोदोको खेती लगाउन सकिन्छ । विशेष गरेर पाखो बारीहरुमा सहजै लगाउन सकिन्छ । धेरै पानी पनि आवश्यक पर्दैन् । मेहेनत पनि धेरै गर्न पर्दैन् । अहिले मधेसमा पानी नपर्नाले धान रोपाँइ सोचेजति हुन सकेको छैन । यस्तो अवस्थामा कोदो रोप्न सक्छौं ।’
‘नेपालमा पहाडी क्षेत्रहरु धेरै भएकाले पाखोबारीलाई सदुपयोग गर्न सकिन्छ । उत्पादन पनि बढाउन सक्छाैँ । जलवायुमैत्री बालीको रुपमा विस्तार गर्न सक्छौँ । हिजोआज सहरका मानिसहरुले कोदोलाई खोजी खोजी खान थालेका छन् । त्यसैले यसलाई विविधिकरण गर्ने, परिकारहरु बनाउने कामहरु भइरहेका छन् । होम स्टेहरुमा झनै लोकप्रिय भएको छ,’ उनको भनाइ छ । सामान्य मेहेनतले पनि कोदो उत्पादन हुने भएकाले कोदो उपयोगी र सजिलो बाली रहेको विज्ञहरुको भनाइ छ । तर अब कोदोको विकास र प्रवद्र्धन गर्ने खालका नीतिहरु ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
कोदो अहिले २ लाख २५ हजार हेक्टर जमिनमा खेती भइरहेकाले आयात घटाएर निर्यात बढाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ । यतिबेला नेपालमा कोदोे ठूलो मात्रामा आयात र न्यून निर्यातबाट गुज्रिएको अवस्थामा रहेको विज्ञहरुको भनाइ छ । कृषि तथ्याङ्क आर्थिक वर्ष २०८०/८१ अनुसार दुई लाख २४ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको छ । भने तीन लाख सात सय मेट्रिक टन कोदो उत्पादन भएको छ ।
७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८,३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात भएको छ भने ९४ लाख बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ । यसरी सरकारले कोदोलाई प्राथमिकतामा राख्ने यो पहलले उत्पादन बढाई आयातमा कमि हुने सम्भावना देखिएको छ । कोदोको उत्पादन वृद्धिको लागि उत्पादन र विविधीकरणमा सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिएको छ ।