Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा पराजित

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको हो ।

मारारा क्रिकेट मैदान नम्बर–२, डार्विनमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको स्ट्राइकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

आक्रमक सुरूवात गरेको स्ट्राइकका लागि ज्याक वेदरल्डले ११ रन बनाए । कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय योगदान दिए । कोनर क्यारोल १८, जोर्डन सिल्क १९ र क्याडेल म्याकमोहन १२ रनमा आउट भए । थोमस एन्ड्रयूजले अविजित ३२ रन बनाए ।

नेपालका फास्ट बलरहरू महंगो सावित हुँदा कप्तान रोहित पौडेलले १५ ओभर बलिङ स्पिनरहरूको हातबाट गराएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमको नाममा २ विकेट रह्यो । रूपेश सिंह, दिपेन्द्रसिंह ऐरी र रोहितले १–१ विकेट बाडे । नेपालले २४ अतिरिक्त रन खर्च गरेको थियो ।

१७८ रनको लक्ष्य सहित जवाफि ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनाउन सक्यो । कुशल भुर्तेललाई ८ रनमा गुमायो । लोकेश बमले रनको खाता खोल्न सकेनन् ।

अर्का ओपनर आसिफ शेखले पनि ११ रन मात्र जोड्न सके । रोहित २३ रन बनाएर केन रिचर्डसनको सिकार भए । कुशल मल्लले सर्वाधिक ३४ रनको योगदान दिए । गुल्सन झाले १० बलमा २६ रनको आक्रमक क्यामियो खेलेपनि जितका लागस पर्याप्त हुन सकेन । १९ रनमा आउट भएका दिपेन्द्रसिंह ऐरीले पुरै इनिङ्सभर संघर्ष गरे ।

स्ट्राइकका लागस म्याट ह्यामन्डले सर्वाधिक ३ विकेट लिए । रिचर्डसन र एन्ड्रयूजको नाममा २–२ विकेट रह्यो । हामिश मार्टिनले १ विकेट हात पारे । स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

नेपालले आफ्नो दोस्रो खेलमा भोली बंगलादेश ‘ए’ विरूद्ध खेल्नेछ भने तेस्रो खेल भदौ २ गते मेलबर्न स्टार्स, चौथो खेल भदौ ३ गते होबर्ट हुरिकेन्स, पाँचौँ खेल भदौ ४ गते मेलबर्नविरूद्ध र अन्तिम खेल भदौ ६ गते पाकिस्तान साहिन्सविरूद्ध हुनेछ ।