नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिप्रति माफी मागेकी छन्। पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि उनलाई ‘सिनो बोकेर हिँड्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी थिइन्।
उनले आगामी दिनमा पार्टी हितविपरीत अभिव्यक्ति नदिने वाचासहित पत्र पठाएकी थिइन्। आज बसेको सचिवालय बैठकमा झाँक्रीले दिएको लिखित स्पष्टीकरण पत्र पेस गरिएको थियो।
‘रामकुमारीजीले भविष्यमा पार्टी निर्णयको विपक्षमा नबोल्ने भनेर यसअघि बोलेको कुरामा क्षमा मागेपछि उहाँलाई थप कारबाही नगर्ने निर्णय भएको छ,’ एक पदाधिकारीले भने।
आज बसेको सचिवालय बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित आत्मालोचना गरेको बताए। पार्टीले सोधेको स्पष्टीकरणको आत्मालोचनासहित जवाफ आएको भन्दै झाँक्रीसँगै छलफल गरेर यो विषय टुङ्ग्याउने निर्णय भएको बताए।