Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कुवेतमा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

कुवेतमा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेको नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ।

महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै अवैध विषादीयुक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको पूर्ण विवरण अझै नखुले पनि १६ जना नेपालीको ज्यान गएको जनाएको छ ।

‘१६ जना नेपाली नागरिक रहेको आधिकारिक जानकारी प्राप्त भयो, ज्यान गुमाउनेहरूको नेपालको ठेगाना र कम्पनी विवरण प्राप्त भइसकेको छैन’, पत्रकार महासंघका कुवेत शाखा अध्यक्ष राज मल्लले भने । कुवेतमा शुक्रबार सार्वजनिक बिदा परेकोले थप विवरण प्राप्त हुन समय लागेको मल्लले जनाएका छन् ।

मदिरा सेवनपछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिक विभिन्न अस्पतालका सघन उपचारकक्षमा रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

k(23).jpg