Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

कांग्रेसले हिजो पार्टीमा भित्र्याएका यादवको सदस्यता आज खारेज

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीमा भित्र्याएका महोत्तरीका देवेन्द्र यादवलाई कांग्रेसले आज निस्कासित गरेको छ ।

कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विहिबार सभापति देउवाले पार्टीको सदस्यता दिएका यादव फौजदारी कानूनी कारवाही प्रकृया रहेकोले उनको सदस्यता खारेज गरेको जानकारी दिइएको छ ।

कांग्रेसले भनेको छ- हिजो बिहीबार विहान ९: ४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कार्वाही प्रकृया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।'

कांग्रेसले कानूनी कारवाहीको प्रकृया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराएको उल्लेख गर्दै निजलाई पार्टी प्रवेश गराउन ल्याउने पार्टीका नेता कार्यकर्ताहरुसँग यस बारे गम्भीरतापूर्वक जानकारी लिइदै गरेको बताएको छ ।