Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

त्रियुगा नदीले जन्ती बस बगाएपछि...

उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बसलाई त्रियुगा नदीको बाढीले बगाएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिइन्।

‘जन्ति पुर्‍याएर फर्किएको बस बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन।’ सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ती पुर्‍याएर फर्किएको को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक बस भासिएको हो ।

इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेको बताए। असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू सकुशल छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ ।

न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान–बेल्टार रूटमा चल्‍ने गरेको असई मेहताले जानकारी दिएका छन्। चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा यहाँका जनताले हरेक वर्ष सास्ती भोग्नु परेको छ । यही ठाउँमा बनेको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस क्षेत्रका बासिन्दा बर्खायाममा सास्ती भोग्न बाध्य छन् । वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य हुन्छन् ।