Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

नयाँ आर्थिक वर्ष सुरु, कोशीले कति खर्च गर्‍यो अघिल्लो बजेट ?

नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा मन्त्री लिंथेपले जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन तथा त्यसबाट सिर्जित प्रशासनिक अवरोधका कारण बजेट कार्यान्वयन प्रभावित भए पनि प्रदेश सरकारले ७० प्रतिशतभन्दा बढी खर्च गर्न सफल भएको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको खर्च अघिल्ला वर्षको तुलनामा केही कम भए पनि देशका अन्य प्रदेशसँग तुलना गर्दा कोशी प्रदेशको बजेट कार्यान्वयन सन्तोषजनक रहेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक विवरणअनुसार आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजन गरिएको ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँमध्ये २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ७२.७२ प्रतिशत हो ।

मन्त्री लिंथेपले नयाँ आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै विकास आयोजनाको गति बढाउने, पूँजीगत खर्च सुधार गर्ने तथा प्रदेशको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने गरी सरकार अघि बढ्ने बताए ।