प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी मौद्रिक नीतिलाई थप लचिलो र सहजीकरणमुखी बनाउन साथै सरकार र राष्ट्र बैंकको सहकार्यबाट मात्रै अर्थतन्त्रमा आत्मविश्वास जगाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री शाहले पुँजी बजारमा आबद्ध लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । उनले मौद्रिक नीतिका केही सीमित र अप्ठ्यारा प्रावधान खुकुलो पारेर सेयर बजारमा लगानीको वातावरण सहज बनाउन, उद्योग–व्यवसायमा लगानी बढाउन, बैंकको ब्याजदर तथा कर्जाका सर्तलाई उद्यममैत्री बनाउन आग्रह गरेका थिए । साथै महिला उद्यमी तथा आर्थिक-सामाजिक रूपमा पछाडि परेका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिनुपर्ने बताएका थिए ।
छलफलमा गभर्नर पौडेलले मौद्रिक नीति समयसापेक्ष, व्यावसायिक र लचिलो बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । सरकार र राष्ट्र बैंकको साझा लक्ष्य अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै उनले कसैलाई अप्ठ्यारो पार्ने नीति नलिइने र सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।