Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सन् १९५८ को विश्वकप फाइनलमा पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री

ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ । यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो ।

यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो । उक्त जर्सी सन् २०२२ मा करिब ९५ लाख डलरमा लिलामी भएको थियो । पेलेको जर्सीका लागि पाँचभन्दा बढी सहभागीबाट १० वटा बोलकबोल परेको थियो । यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो ।

पेलेले १७ वर्षको उमेरमा स्विडेनविरुद्धको सन् १९५८ को विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए । उनी विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमानधारी पनि हुन् । 

सोही लिलामीमा म्याराडोनाले सन् १९८६ को विश्वकपमा कप्तानी गर्दा प्रयोग गरेको आर्मब्यान्ड पाँच लाख १२ हजार अमेरिकी डलरमा बिक्री भयो । त्यस्तै, सन् २०१७ मा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनविरुद्ध च्याम्पियन्स लिगमा ६-१ को ऐतिहासिक पुनरागमन जित हासिल गर्दा लिओनल मेसीले लगाएको जर्सी दुई लाख १७ हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको छ । साथै, डेभिड बेकह्यामले सन् २००२ को विश्वकपमा इङ्ग्ल्यान्डका लागि आफ्नो ५०औँ खेल खेल्दा लगाएको जर्सी ५१ हजार २ सय अमेरिकी डलरमा बिक्री भएको छ ।