नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि गर्दै भोलि बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म पार्थिव शरीर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए ।
श्रेष्ठलाई हालै कांग्रेसले वरिष्ठ नेता बनाएको थियो। श्रेष्ठले पार्टीमा गरेको योगदानअनुसार सम्मानसहित उनलाई वरिष्ठ नेता बनाइएको थियो।
श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचारसमेत गरिएको थियो।
उनी गत पुसमा भएको विशेष महाधिवेशन उद्घाटन सत्रमा पनि सहभागी थिएनन्।
श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका थिए। उनी भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत थिए। उनी विभिन्न समयमा गरी ५ वर्ष जेलसमेत परेका थिए।
उनले नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिसमेत रहेर काम गरेका थिए।