Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान

चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाएकी छन् । उनको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उनले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडेकी छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो । अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेका बेला एक युवक नदीमा संघर्ष गरिरहेको देखिन्। । नदीमा मौसमी बाढीका कारण पानीको गहिराइ करिब तीनदेखि चार मिटर थियो ।

photo-3_7f6d4bd7.png

युवक डुबिरहेको देखेपछि लिउले एकछिन पनि ढिला नगरी लाइफबोय समातेर नदीमा हाम फालिन् । उनले करिब आधा घण्टासम्म संघर्ष गर्दै युवकलाई किनारतर्फ तानिरहिन् । अन्ततः नदी किनारमा रहेका अन्य मानिसको सहयोगमा उनले युवकलाई सुरक्षित बाहिर निकाल्न सफल भइन् ।

उद्धार गरिएका युवकले आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ । लिउले आफ्नो ज्यानको जोखिमसमेत बेवास्ता गर्दै उनको जीवन बचाउन सफल भएकी हुन् । उद्धारपछि युवक सुरक्षित भएको थाहा पाएलगत्तै लिउ भिजेको लुगामै चुपचाप घर फर्किइन् । उनले आफूले गरेको कामलाई सामान्य मान्दै कुनै प्रशंसा वा ध्यान आकर्षित गर्न चाहिनन् ।

photo-2_85c3e974.png

घटनाका प्रत्यक्षदर्शीहरूले भने उनको साहसप्रति आश्चर्य व्यक्त गरेका छन्। प्रत्यक्षदर्शी वाङ हुइहुआले भने, ‘मैले घटनाको भिडियो बनाएर प्रहरीलाई देखाएँ । म उहाँको धेरै सम्मान गर्छु । म उहाँभन्दा धेरै कान्छो हुँ, तर मलाई पौडिन आउँदैन र पानीमा पस्न डर लाग्छ ।’

घटनाको भोलिपल्ट प्रहरीले लिउको पहिचान गरी उनको घरमै पुगेर धन्यवाद दिएको थियो । त्यसपछि नदी किनारमा फर्किएर घटनाबारे स्मरण गर्दै लिउले आफूले तत्काल मानिसको जीवन बचाउने सोच मात्रै राखेको बताइन् ।

photo-4_897d2a0d.png

‘मैले नदीमा मानिस डुबिरहेको देख्दा दुई पटक सोचिनँ । प्रत्येक सेकेन्ड महत्वपूर्ण थियो । जति छिटो उद्धार गर्न सक्यो, बाँच्ने सम्भावना त्यति नै बढी हुन्छ भन्ने लाग्यो। त्यो बेला मैले आफ्नो सुरक्षाबारे सोचिनँ, केवल उनलाई बचाउन चाहन्थें,’ लिउले भनिन् । ७१ वर्षको उमेरमा पनि देखाएको उनको साहस र निस्वार्थ भावनाको अहिले चीनभर प्रशंसा भइरहेको छ ।