संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका विषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा विपक्षी दलका प्रमुख सचेतकहरूले सरकारसँग सांसदहरूको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् ।
छलफलपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकको क्यालेन्डर बनाउने र संसदीय प्रक्रियालाई मर्यादित बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिइन् ।
उनले सीमा विवादको सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध कायमै रहने समेत जानकारी गराएकी थिइन् ।
करिव दुई साताका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक यही साउन १४ गते बस्दैछ ।