बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत बालमैत्री स्थानीय शासनसम्बन्धी दुईदिने तालिम हरिपूर्वा नगरपालिका वडा नं. १ र वडा नं. ४ (डुमरिया) मा सम्पन्न भएको छ।

कार्यक्रम बागमती सेवा समाज नेपाल को आयोजनामा, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को सहयोग तथा हरिपूर्वा नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो। तालिममा वडा नं. १ र ४ का वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, वडा सचिव, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लबका पदाधिकारी, महिला, युवा, किसान तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य स्थानीय तहमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने, बालमैत्री विद्यालय तथा समुदायको वर्तमान अवस्था मूल्याङ्कन गर्ने, बालअधिकारप्रति जनचेतना अभिवृद्धि गर्ने तथा समुदायमा बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रहेको आयोजकले जनाएको छ।

नेपाल सरकारले वि.सं. २०८७ सम्म देशभरका स्थानीय तहलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य लिएको सन्दर्भमा उक्त लक्ष्य हासिल गर्न स्थानीय तहको तयारी, चुनौती र सम्भावनाबारे सहभागीहरूबीच विस्तृत छलफल गरिएको थियो। साथै बाल संरक्षण, बाल सहभागिता, शिक्षा, स्वास्थ्य तथा बालअधिकारसम्बन्धी विविध विषयमा जानकारी प्रदान गरिएको थियो।
तालिममा सहभागीहरूले कार्यक्रम निकै फलदायी रहेको प्रतिक्रिया दिएका छन्। सहभागी प्रमिला शर्मा ले भनिन्, "यो बालमैत्री स्थानीय शासनसम्बन्धी तालिमबाट बालबालिकाको अधिकार, स्वास्थ्य, शिक्षा, संरक्षण तथा विभिन्न निकायमा उनीहरूको पहुँचका विषयमा महत्वपूर्ण जानकारी प्राप्त गर्न पाउँदा अत्यन्त खुशी लागेको छ। अब हामीले सिकेका कुराहरू आफ्ना समुदायमा फैलाएर बालअधिकार सुनिश्चित गर्न स्थानीय सरोकारवालासँग सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता महसुस गरेका छौं।"

सहभागीहरूले यस्ता व्यवहारिक तथा जनचेतनामूलक तालिमले स्थानीय तहमा बालमैत्री शासन प्रणाली कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार तथा प्रशंसा व्यक्त गरेका छन्।