Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेस प्रतिष्ठानले ४० युवालाई विपद् व्यवस्थापन तालिम दिने

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी तीनदिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानको साउन १० र ११ गते बसेको छैटौँ बैठकले विपद् व्यवस्थापनका क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यसहित साउन १५ देखि १७ गतेसम्म काठमाडौँमा विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अनुसार पहिलो चरणमा इच्छुक आवेदकमध्ये छनोट गरिएका ४० जना युवाले प्रशिक्षणमा सहभागी हुनेछन्। प्रशिक्षणमा प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानका साथै प्राविधिक सीप र व्यावहारिक अभ्याससमेत गराइनेछ।

कार्यक्रममा प्राकृतिक विपद्का क्षेत्रमा लामो समयदेखि स्वदेश तथा विदेशमा कार्यरत विषयविज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन् ।

नेपाली कांग्रेसले उक्त प्रशिक्षणमार्फत विपद्पूर्व तयारी, सचेतना, उद्धार तथा प्रतिकार्यमा सक्रिय रूपमा परिचालन हुन सक्ने दक्ष युवा स्वयंसेवक तयार हुने विश्वास व्यक्त गरेको छ।

प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ भन्ने अवधारणाअनुसार देशभर स्वयंसेवक सञ्जाल विस्तार गर्ने योजना रहेको जनाएको छ।