Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना प्रहरीको नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ ।

सिआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘साङ्गठनिक व्यवहार’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक गरिएको घटनामा शिक्षा ऐन, २०२८ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको छ ।

यसअघि पक्राउ परेका व्यक्तिमाथि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान जारी रहेकै अवस्थामा घटनामा संलग्न थप दुई जनालाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुलकुमार मिश्र रहेका छन् । उनलाई साउन १० गते काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट पक्राउ गरिएको हो ।

यस्तै, बाराको लिपनीमाल–१ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्दै आएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।