जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं उपत्यका आउने–जाने यात्रुले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
कार्यालयले जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको रातो सतर्कता जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गरी यात्रा गर्नुपर्ने जनाएको हो ।
प्रशासनले काठमाडौं उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमका सबै प्रवेश तथा बाहिरिने नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारीधनी र यात्रुलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।
विशेषगरी विगतका वर्षमा रातिको समयमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको स्मरण गराउँदै सम्भावित भारी वर्षा हुने दिनमा रातिको यात्रा गर्दा अझ बढी सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
राजमार्गका कुनै खण्डमा बाढी वा पहिरोका कारण सडक अवरुद्ध भएमा यात्रुलाई सुरक्षित स्थानमा मात्रै रोक्ने, आवश्यक खाना तथा पानीको व्यवस्था गर्ने र प्रहरी प्रशासनबाट सडक सञ्चालन भएको आधिकारिक जानकारी प्राप्त गरेपछि मात्र यात्रा अघि बढाउन पनि सूचनामा भनिएको छ ।
आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका सहायता नम्बर १००, १०३, १११४ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।