Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

दुई दिन भारी वर्षाको सम्भावना, प्राधिकरणद्वारा उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार साउन २ गते शनिबार र ३ गते आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ।

प्राधिकरणले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव, नदी कटान, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम उच्च रहने भएकाले आवश्यक सावधानी अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक घरदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न तथा आवश्यकता अनुसार जुनसुकै बेला सडक बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, उत्खनन यन्त्र, भारवाहक यन्त्रलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ।

जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले आग्रह गरेको छ। विशेषगरी खोला, खहरे, नदी किनार तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन अनुरोध गरिएको छ।

प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बर मोबाइलमा सुरक्षित राखी आवश्यक पर्दा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरिएको छ।