मौसम खुलेसँगै देखिने निलो आकास मुनि मुस्ताङको जोमसोमबाट सेताम्मे निलगिरी हिमालको मनमोहक दृश्य देखिन्छ । आकाशमा कतै—कतै देखिएका सेता बादल विस्तारै हट्दै जाँदा चम्किलो घामसँगै निलगिरी हिमाल झन् आकर्षक बन्ने गरेको छ ।
जोमसोम विमानस्थलबाट निकै नजिकै रहेको निलगिरी हिमालको मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको छ । विमानस्थलबाटै स्पष्ट देखिने निलगीरी हिमालले मुस्ताङ भ्रमणमा आउने गरेको पर्यटकलाई अझ आकर्षित गर्ने गरेको छ ।
विशेषगरी मुक्तिनाथ दर्शनका लागि जोमसोम विमानस्थल हुँदै यात्रा गर्ने पर्यटकले निलगिरी हिमालको प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने अवसर समेत पाउने गरका छन् ।
निलो आकाश, हिउँले ढाकिएको निलगिरी हिमाल र वरपरको प्राकृतिक वातावरणले जोमसोम क्षेत्रलाई अझ आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको छ । प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्र धार्मिक पर्यटनसँगै हिमाली दृश्यावलोकनका लागि पनि लोकप्रिय बनेको छ ।
मुक्तिनाथको धार्मिक महत्त्वसँगै निलगिरी हिमालको दृश्यले जोमसोमलाई नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्यका रूपमा थप परिचित समेत बनाएको छ । यद्यपी, यतिबोला पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा नियमित हवाई उडान ठप्प भएको छ । मनसुन सक्रिय भएसँगै मौसममा आउने प्रतिकूलता र धावनमार्गको सुरक्षालाई ध्यानमा राख्दै एयरलाइन्सहरूले जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्मका लागि आफ्ना सबै निर्धारित उडानहरू स्थगित गरेका हुन् ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल नियमित जहाजको उडान नभए पनि फाट्टफुट्ट रूपमा चार्टर्ड हेलिकप्टरहरूले भने उडान भरिरहेका छन् । ‘अहिले हाम्रोमा नियमित फ्लाइटहरू छैनन, तर हेलिकप्टरको चासो भने देखिन्छ र बेलाबेलामा चार्टर्ड उडानहरू भइरहेका छन,‘ प्रमुख पोखरेलले भने, ‘मनसुन अवधिभर मौसम छिनछिनमा परिवर्तन हुने भएकाले साना जहाजका लागि उडान भर्न जोखिमपूर्ण मानिन्छ, जसका कारण एयरलाइन्सहरूले यो समयमा उडान कटौती गर्ने गर्छन् ।’
विमानस्थल कार्यालयले उडान नभए पनि आफ्नो सेवा र तयारीमा कुनै कमी नराखेको स्पष्ट पारेको छ । प्रमुख पोखरेलले विमानस्थलको अवस्थाबारे जानकारी दिँदै भने, ‘हामी सेवा दिनका लागि सधैँ तयार छौँ, यो एउटा पसल जस्तै हो, हामी सेवा दिनकै लागि यहाँ बसेका हौँ । जहाज नआए पनि हामी आफ्नो कार्यक्षेत्रमा खटिएका हुन्छौँ ।’ उनले विमानस्थलको धावनमार्गमा कुनै समस्या नरहेको र प्राविधिक रूपमा उडानका लागि विमानस्थल सक्षम रहेको समेत बताए ।
हवाई सेवा बन्द भएपछि मुस्ताङ र प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने यात्रीहरूले अहिले सडक मार्गलाई विकल्पका रूपमा रोज्न थालेका छन् । जोमसोमबाट मुक्तिनाथसम्मको सडक यात्रा सहज रहेकाले पनि धेरैजसो यात्रीहरू गाडीमार्फत गन्तव्यमा पुग्ने गरेका छन् ।
हवाई कार्यालयले केवल उडानको तथ्याङ्क राख्ने भएकाले सडक मार्गबाट जाने यात्रीहरूको चापबारे आधिकारिक जानकारी नभए पनि विमानस्थल प्रमुख पोखरेलले यात्रीहरू सहजै गाडीबाट यात्रा गरिरहेको बताए ।
साउन र भदौको वर्षात् सकिएपछि र मौसममा सुधार आएसँगै भदौको दोस्रो सातादेखि पुनः नियमित उडानहरू सुचारु हुने अपेक्षा गरिएको छ । हाललाई भने मुस्ताङको हवाई सम्पर्क केवल अत्यावश्यक र चार्टर्ड हेलिकप्टरमा मात्र सीमित हुन पुगेको छ ।