Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित केही पक्राउ

काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी, सरिश्मा थापासहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि राहत तथा सहयोगका लागि पुगेका अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

नियन्त्रणमा परेका अन्सारीले पक्राउ गर्ने क्रममा प्रहरीले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन्। "प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लियो। मेरो नाकबाट रगतसमेत आएको छ," अन्सारीले बताएका छन्। उनीहरूलाई हाल कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको जनाइएको छ।

यद्यपि, प्रहरीले उनीहरूलाई कुन आधारमा नियन्त्रणमा लिएको हो भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। अन्सारीले लगाएको कुटपिट तथा दुर्व्यवहारको आरोप पनि स्वतन्त्र रूपमा पुष्टि भएको छैन।