नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको बताएका छन् । सुकुमवासी नागरिकलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले उनीहरूलाई जोखिमबाट मुक्त गरेको नभई एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको उनले बताएका हुन् ।
उनले सुकुमवासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् । ‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु- ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ’, उनले भने, ‘आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु- त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’
सुरक्षित आश्रयको आश्वासन पाएका सुकुमवासी नागरिक आज फेरि भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच पीडादायी जीवन बिताउन बाध्य भएको आङ्देम्बेको भनाइ छ।
‘झन् दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइयो। म सोध्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ?’ उनले भने।
उनले सरकारले प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्।