Jul 05 2026

Jul 05 2026 | आइतवार, आषाढ २१ गते २०८३

सामाखुसी खोला उर्लिँदा काठमाडौँका बस्ती प्रभावित

शनिबार राति परेको अविरल वर्षापछि आएको भेलले सामाखुसी खोलाको चिरायु अस्पताल र विद्युत् प्राधिकरण वितरण केन्द्र नजिकको क्षेत्रमा क्षति पुर्‍याउँदै आसपासको बस्ती जोखिममा परेको छ ।

जोखिम न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बल तत्काल परिचालन भएको छ । नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछा र ध्रुवकुमार भुजेलको नेतृत्वमा रहेको प्रतिकार्य टोलीले प्रभावित क्षेत्रमा जोखिम कम गर्ने तथा बस्ती सुरक्षित बनाउने काम गरिरहेको महानगरपालिकाले जनाएको छ।

भेलका कारण खोलाको किनारामा क्षति पुगेको छ भने थप जोखिम हुन नदिन आवश्यक सुरक्षा तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको छ । महानगरपालिकाले स्थानीयवासीलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।