नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मौद्रिक नीति नितान्त प्राविधिक विषय भएको बताउँदै यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आयोजित छलफलको क्रममा उनले यस्तो बताएका हुन् ।
केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान नगरे अर्थतन्त्रले सही दिशा लिन नसक्ने पनि उनले बताएका छन् । उनले मौद्रिक नीतिजस्तो अत्यन्तै प्राविधिक विषयमा संसदमा बोलाएर छलफल गर्ने अभ्यास संसारमा सम्भवतः नेपालमा मात्रै रहेको पनि टिप्पणी गरे।
उनले भने, ‘मौद्रिक नीति संसारभर केन्द्रीय बैंकले स्वतन्त्र रूपमा निर्माण गर्छ। यसको मुख्य उद्देश्य मुद्रास्फीति नियन्त्रण गर्ने र सरकारले ल्याएको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउने मात्र हो।’
नेपालको अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा करिब ४१ प्रतिशत रहेको उल्लेख गर्दै डा.नेपालले यसले मौद्रिक नीतिको प्रभावकारितामा चुनौती थपेको बताए।