नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार नागरिकको 'लाइफ'भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भएको आरोप लगाएका छन्। सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।
उनले बालेन शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको भन्दै लोकतान्त्रिक विधि र प्रक्रियालाई बेवास्ता गरी लोकप्रियताको पछि मात्र कुदेको पनि बताए ।
सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै थापाले भने, 'अहिलेको सरकारलाई नागरिकको जीवनमा कस्तो प्रभाव पर्छ भन्ने भन्दा पनि सामाजिक सञ्जालमा कति 'लाइक' आउँछ भन्ने कुराले बढी अर्थ राख्न थालेको छ। यो प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताको विषय हो।'
उनले सरकारले 'रुल अफ ल' (कानुनको शासन) भन्दा पनि 'रुल बाइ ल' (कानुनमार्फत शासन) गर्न खोजेको र प्रक्रियालाई मिचेर परिणाम मात्र खोज्दा लोकतन्त्र दुर्घटनामा पर्न सक्ने चेतावनी दिए ।
अर्थतन्त्रको सन्दर्भमा बोल्दै थापाले बैंकहरूमा पर्याप्त तरलता भए पनि व्यवसायीहरूमा आत्मविश्वास नहुँदा लगानी हुन नसकेको समेत बताएका छन् ।