Jul 01 2026

Jul 01 2026 | बुधवार, आषाढ १७ गते २०८३

विश्वकप जितको उत्सव मनाउदा मेक्सिकोमा तीन जनाको मृत्यु

फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक महिला र ४४ वर्षीय एक पुरुष रहेका छन् ।

मेक्सिको सिटीको स्वास्थ्य प्राधिकरणका अनुसार खेलपछि विजय उत्सव मनाउन ठूलो संख्यामा मानिस सडकमा उत्रिएपछि उनीहरू विभिन्न स्थानमा अचेत अवस्थामा भेटिएका थिए । उद्धार टोलीले प्राथमिक उपचार र मुटुको चाल पुनः सञ्चालन गर्ने प्रयास गरेपछि उनीहरूलाई अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा तीनै जनाको मृत्यु भएको पुष्टि भएको हो ।

मेक्सिकोले विश्वकपको समूह चरणको अन्तिम खेलमा इक्वेडरलाई २-० ले पराजित गर्दै सन् १९८६ यता पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएपछि राजधानीभर उत्सव मनाइएको थियो । शहर प्रशासनका अनुसार १० लाखभन्दा बढी समर्थक मुख्य रूपमा स्वतन्त्रता स्मारक आसपासको क्षेत्रमा भेला भएका थिए ।

मेक्सिको सिटीकी मेयर क्लारा ब्रुगाडाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन् । उनले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने पनि बताएकी छन् ।

घटनापछि सामाजिक सञ्जालमार्फत उनले समर्थकहरूलाई जिम्मेवार, सुरक्षित र एकअर्काप्रति संवेदनशील भएर मात्र विजय उत्सव मनाउन आग्रह गरेकी छन् ।

मेक्सिकोको जितपछि एज्टेका रंगशालादेखि राजधानीका विभिन्न स्थानमा रात अबेरसम्म आतसबाजी र उत्सव जारी रहेको थियो । खेलअघि नै मेयर ब्रुगाडाले स्वतन्त्रता स्मारक आसपास अत्यधिक भीड भइसकेकाले त्यहाँ खेल हेर्न नजान समर्थकलाई आग्रह गरेकी थिइन् ।

दुई करोडभन्दा बढी जनसंख्या रहेको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी जनघनत्व भएका महानगरमध्ये एक हो ।

इक्वेडरमाथिको जितसँगै मेक्सिको विश्वकपको अन्तिम १६ मा पुगेको छ । अब मेक्सिकोले अन्तिम १६ मा इङल्याण्ड र डिआर कंगोबीचको विजेतासँग खेल्ने छ ।